विराटनगर,१ मंसिर । विराटनगरमा निश्चित मापदण्ड पूरा गरेका व्यवसायले अब राति २ बजेसम्म सेवा दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालीन व्यवसाय सञ्चालनसम्बन्धी नयाँ मापदण्ड जारी गर्दै इच्छुक व्यवसायीबाट अनुमति प्रक्रियाका लागि निवेदन लिन थालेको हो ।नयाँ व्यवस्थाअनुसार व्यवसायको प्रकृति हेरेर राति १२ बजेदेखि २ बजेसम्म सञ्चालन अनुमति दिइनेछ । पान, मिठाई, चिया, आइसक्रिम, किराना, रेस्टुरेन्ट, खाना–खाजा, दोहोरी तथा गजल व्यवसायले राति १२ बजेसम्म सेवा दिन पाउनेछन् । पब, डिस्को, डान्स क्लब, लाउन्ज बार र लाइभ म्युजिक सञ्चालन हुने स्थानले भने राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न सक्नेछन।
प्रशासनले अनुमति लिन चाहने व्यवसायीबाट मंगलबारदेखि निवेदन लिन थालेको छ । तर, निवेदन दर्ता गर्दैमा राति अबेरसम्म व्यवसाय सञ्चालन गर्न पाइने छैन । सम्बन्धित वडा कार्यालयको सिफारिससहित निवेदन दिएपछि अनुगमन समितिले व्यवसायस्थलको निरीक्षण गर्नेछ । तोकिएका पूर्वाधार र सुरक्षा मापदण्ड पूरा भएको पाइएपछि मात्रै अनुमति दिइनेछ ।मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार रात्रिकालीन गतिविधिलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन ‘रात्रिकालीन होटल तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ जारी गरिएको हो । राति १० बजेसम्म व्यवसाय सञ्चालन गर्नेले भने अतिरिक्त अनुमति लिनुपर्ने छैन ।
नयाँ व्यवस्थाले विराटनगरको रात्रिकालीन आर्थिक गतिविधि विस्तार गर्ने बाटो खोलेसँगै व्यवसायीका लागि सुरक्षा, श्रमिक अधिकार र ग्राहकप्रतिको जिम्मेवारी सम्बन्धी सर्त पनि तोकेको छ ।राति अबेरसम्म व्यवसाय सञ्चालन गर्न अनुमति पाए पनि मदिरा बिक्री तथा सेवन गराउने समय भने फरक तोकिएको छ । अनुमति प्राप्त व्यवसायले दिउँसो १२ बजेअघि मदिरा बिक्री तथा सेवन गराउन पाउने छैनन् । शुक्रबार राति १ बजेपछि र अन्य दिन राति १२ बजेपछि पनि मदिरा बिक्री तथा सेवन गराउन रोक लगाइएको छ ।मदिरा बिक्री गर्ने पसलका लागि भने बिहान १० बजेदेखि राति १० बजेसम्मको समय तोकिएको छ ।
रात्रिकालीन व्यवसाय सञ्चालन गर्न चाहनेले व्यवसाय परिसर र आसपासको कम्तीमा १०० मिटर क्षेत्रसम्म पर्याप्त प्रकाशको व्यवस्था गर्नुपर्नेछ । प्रवेशद्वार र सडक देखिने गरी सीसीटीभी जडान गर्नुपर्ने र त्यसको रेकर्ड कम्तीमा ३० दिनसम्म सुरक्षित राख्नुपर्नेछ ।ध्वनि प्रदूषण नियन्त्रणका लागि साउन्डप्रुफ संरचना बनाउनुपर्नेछ । डिजिटल डिस्प्ले बोर्ड, अग्नि नियन्त्रण उपकरण र आपत्कालीन निकासको व्यवस्था पनि अनिवार्य गरिएको छ ।डान्सबार, दोहोरी, लाइभ ब्यान्ड, पब, क्लब तथा डिस्कोमा १८ वर्षमुनिका बालबालिकालाई प्रवेश दिन पाइने छैन । धूमपान गर्नेका लागि छुट्टै क्षेत्रको व्यवस्था गर्नुपर्नेछ ।
राति १० बजेपछि घरबाहिर निस्कने ग्राहकले परिचय खुल्ने कागजात साथमा राख्नुपर्नेछ । सुरक्षाकर्मीले माग गरेमा त्यस्तो कागजात देखाउनुपर्ने व्यवस्था छ । होटलमा बस्ने नेपाली तथा विदेशी नागरिकको परिचय खुल्ने कागजातको विवरण पनि व्यवस्थित रूपमा अभिलेख राख्नुपर्नेछ ।मदिरा सेवन गरेका ग्राहकलाई सुरक्षित रूपमा घर वा गन्तव्यसम्म पुर्याउने दायित्व पनि व्यवसायीलाई तोकिएको छ । होटल तथा रेस्टुरेन्टले न्यूनतम अतिरिक्त शुल्क लिएर ग्राहकलाई गन्तव्यसम्म पुर्याउने सेवा उपलब्ध गराउनुपर्नेछ ।अन्य ग्राहकले समेत सशुल्क सवारी सेवा माग गरेमा व्यवस्था मिलाउनुपर्नेछ । व्यवसायस्थलमा पर्याप्त पार्किङको प्रबन्ध पनि गर्नुपर्नेछ ।
प्रशासनले श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्ने व्यवस्थालाई पनि सञ्चालन अनुमति प्राप्त गर्ने अनिवार्य सर्त बनाएको छ । कर्मचारीलाई नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, अतिरिक्त समय काम गरेबापतको सुविधा र जोखिम बिमाको व्यवस्था गर्नुपर्नेछ । तलब बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्नेछ ।राति काम गर्ने कर्मचारीलाई घरबाट कार्यस्थलसम्म ल्याउने र घर पुर्याउने यातायात तथा खानाको व्यवस्था व्यवसायीले नै गर्नुपर्नेछ । महिला श्रमिकका लागि सुरक्षित पोसाक परिवर्तन कक्ष र स्तनपान कक्ष बनाउनुपर्नेछ ।कार्यसमयमा कर्मचारीले मदिरा सेवन गर्न वा ग्राहकसँगै बसेर खान पाउने छैनन् । कलाकारले उत्तेजक तथा अमर्यादित पोसाक लगाउन नपाउने र मौलिकता तथा संस्कृति झल्कने प्रस्तुति दिनुपर्ने व्यवस्था पनि मापदण्डमा छ ।
यौनजन्य दुर्व्यवहार तथा कार्यस्थलमा हुने अवाञ्छित गतिविधि रोक्न मसाज पार्लर, स्पा र क्याबिनका ढोकामा भित्रबाट चुकुल वा लक राख्न नपाइने व्यवस्था गरिएको छ । स्पामा तालिम तथा प्रमाणपत्र प्राप्त व्यक्तिले मात्रै काम गर्न पाउनेछन् ।स्विमिङ पुल सञ्चालन गर्ने होटलले सेवाग्राहीको न्यूनतम बिमा गर्नुपर्नेछ । क्यासिनो सञ्चालनमा भने क्यासिनो नियमावली, २०८२ अनुसारका प्रावधान लागू हुनेछन् ।यो व्यवस्था विराटनगर महानगरपालिकाभित्र केशलिया र सिंगिया खोलाबीच तथा उत्तरमा विराटनगर स्वागत गेट (ढाट) देखि दक्षिणमा रानीसम्मको क्षेत्रमा लागू हुनेछ । गृह मन्त्रालयको ‘पूर्ण समयमा व्यवसाय सञ्चालन गर्नेसम्बन्धी कार्यविधि, २०७९’ को अधीनमा रहेर प्रशासनले स्थानीय मापदण्ड तयार पारेको हो ।
मापदण्ड कार्यान्वयनको अवस्था जाँच्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, विराटनगर महानगरपालिका र व्यवसायीका प्रतिनिधि रहनेछन् । समितिले नियमित तथा आकस्मिक अनुगमन गर्नेछ ।तोकिएको मापदण्ड उल्लंघन गर्ने वा ध्वनि प्रदूषण गर्ने व्यवसायको रात्रिकालीन सञ्चालन अनुमति तत्काल रद्द गरिने प्रशासनले जनाएको छ । उल्लंघनकर्ता माथि प्रचलित कानुनअनुसार कारबाही हुनेछ । श्रमिक माथि हुने दुर्व्यवहार सम्बन्धी उजुरीको कारबाही प्रक्रिया भने गोप्य राखिने मापदण्डमा उल्लेख छ ।










