बिर्तामोड,१ मंसिर । झापाको बिर्तामोडबाट प्रकाशित यस क्षेत्रकै अग्रणी सञ्चार माध्यम ‘पूर्वाञ्चल दैनिक’ आफ्नो तीन दशकभन्दा लामो गौरवमय यात्रा पूरा गरी आजबाट ३२औँ वर्षमा प्रवेश गरेको छ । स्थानीय सरोकार, क्षेत्रीय आवाज र राष्ट्रिय महत्वका घटनाक्रमहरूलाई सन्तुलित तवरले प्रस्तुत गर्दै आएको यस पत्रिकाले विभिन्न आरोह–अवरोह र चुनौतीहरूलाई चिर्दै नयाँ ऊर्जा र प्रविधिकै साथ यो ऐतिहासिक माइलस्टोन पार गरेको हो ।२०५२ साल मङ्सिर १ गतेबाट नियमित प्रकाशन सुरु भएको पूर्वाञ्चल पत्रिकाको यात्रा निकै प्रेरणादायी छ । स्थापनाकालमा सीमित लेटर प्रेसको ढाँचाबाट अगाडि बढेको पूर्वाञ्चल दैनिकले मोफसलमै पहिलोपटक अत्याधुनिक अफसेट प्रविधि भित्र्याएर नेपालको पत्रपत्रिका इतिहासमा एक महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेको थियो । प्रेस काउन्सिल नेपालबाट निरन्तर ‘क’ श्रेणी प्राप्त गरी आफ्नो विश्वसनीयता साबित गरिसकेको श्रीअन्तु प्रकाशन प्रालि अन्तर्गत प्रकाशित पूर्वाञ्चल पत्रिकाले समयको परिवर्तनसँगै आफूलाई पूर्ण रूपमा रूपान्तरण गरेको छ । हाल प्रिन्ट संस्करणसँगै डिजिटल माध्यममा समेत उत्तिकै सक्रिय पूर्वाञ्चलले आफ्नै अनलाइन पोर्टल
-Purwanchaldaily.com_ मार्फत विश्वभर छरिएका नेपालीहरूसँग प्रत्यक्ष सम्पर्क कायम गरेको छ ।
३१ वर्षको सफल कार्यकाल पूरा गरी ३२औँ वर्षमा प्रवेश गर्दा संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले आजको यो स्थानसम्म पु¥याउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता, कर्मचारी तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ।परिवर्तित समय र पाठकहरूको रुचिलाई ध्यानमा राख्दै पत्रिकाले आफ्ना सेवाहरूलाई अझै फराकिलो बनाउँदै लगेको छ । व्यवस्थापक चन्द्रकान्त ढकालका अनुसार पाठक, विज्ञापनदाता र सम्पूर्ण सहकर्मीहरू नै संस्थाका मुख्य आधारस्तम्भ हुन् ।
परिवर्तित समयले छिटो, विश्वसनीय र सहज समाचार प्रवाहको माग गरेको बताउँदै उहाँले अब बजार विस्तारसँगै अनलाइनमा भिडियो सामग्री, श्रव्य–दृश्यसहितको समाचार बुलेटिन र विभिन्न कार्यक्रम प्रसारणजस्ता नयाँ योजनाहरूका साथ अघि बढ्ने जानकारी दिनु भएको छ । त्यस्तै, सह–सम्पादक नरेन्द्र ढकालका अनुसार मोबाइलमै ताजा समाचार, अपडेट्स र रंगीन ई–पेपर पढ्न सकिने सेवा विस्तार भएपश्चात नयाँ पुस्ताका पाठकहरूमा यसको पहुँच उल्लेखनीय रूपमा बढेको छ ।
विभिन्न राजनीतिक परिवर्तन, आर्थिक तथा सामाजिक उतारचढाव र प्राकृतिक प्रकोपका बीच पनि प्रकाशनलाई निरन्तरता दिन सक्ने मोफसलका थोरै पत्रिकाहरूमध्ये पूर्वाञ्चल दैनिक अग्रणी स्थानमा आउँछ । प्रधान सम्पादक एकराज गिरीले पाठकहरूको अटुट विश्वास र विज्ञापनदाताहरूको निरन्तर साथले नै पत्रिकालाई समाजमा आफ्नो स्थान मजबुत बनाउन सफल बनाएको बताँउनु भएको छ् । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रत्यक्ष रूपमा वितरण हुने यस पत्रिकाले स्थानीय सरकार, सामाजिक अभियान, विकास निर्माण, व्यापार–व्यवसायदेखि कला–संस्कृतिसम्मका सबै विषयलाई प्राथमिकताका साथ समेट्दै आएको छ ।
आगामी दिनमा ‘नयाँ पुस्ता, नयाँ प्रविधि र नयाँ युगको पत्रकारिता’ को मर्मलाई आत्मसात् गर्दै राष्ट्रहितको पक्षमा पैरवी गर्ने र समाजलाई थप उत्तरदायी तथा जवाफदेही बनाउन खबरदारीको भूमिकालाई अझ सुदृढ रूपमा निरन्तरता दिने प्रतिबद्धता पूर्वाञ्चल दैनिकले व्यक्त गरेको छ ।










