काठमाडौं , असोज १०। देशका विभिन्न भू–भागमा आज पनि वर्षा भइरहेको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतिर सर्दै भारतको उत्तर प्रदेश आसपास पुगेकाले देशका पश्चिमी भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित बागमती, मधेश र पूर्वी भू–भागमा हाल पानी पर्न रोकिए पनि पुनः वर्षा हुने सम्भावना कायमै छ । मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यकामा भारी झरी नपरे पनि आज साँझ तथा रातिको समयमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ । आइतबार बिहानसम्म बेलाबखत पानी पर्ने भए पनि दिउँसोदेखि मौसममा सुधार आउने महाशाखाको पूर्वानुमान छ ।
सोमबारदेखि भने धेरैजसो स्थानमा मौसम खुलेर घाम लाग्ने सम्भावना रहेको छ ।हाल मनसुनी वायुका साथै पश्चिमी वायु र न्यूनचापीय प्रणालीको संयुक्त प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।आइतबार साँझबाट पश्चिमी क्षेत्रमा समेत वर्षाको क्रम घट्दै जाने महाशाखाले जनाएको छ ।जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आगामी २४ घण्टामा सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म तथा बागमतीका दक्षिणी जिल्लाहरू भारी वर्षाको मुख्य जोखिममा रहेका छन् ।मौसमविद्हरूले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई थप २४ घण्टा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।









