जनकपुर,१३ मंसिर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज विधिपूर्वक तिलकोत्सव विधि सम्पन्न गरेको छ ।जनकपुरधाम उपमहागरपालिकाका मेयर मनोज कुमार साहले माता सीताको अभिभावक सरह भगवान रामको अभिभावकका रुपमा रहेका अयोध्याका मेयर घ्रीसपाठ तीवारीलाई आमन्त्रण पत्र दिनु भएको छ।
उहाँले धार्मिक विधि सम्पन्न गर्दै जन्ती बनेर विवहापञ्चमी महोत्सवमा सहभागी हुन निमन्त्रणा दिनु भएको छ।तिलकोत्सव समारोहमा मिथिलाको परम्परा अनुसार जनकपुरधामका महिला टोलीले पारम्परीक गीत प्रस्तुत गरेका थिए । समारोहमा भगवान राम र माता सीताको स्वरुप तयार गरी पूजा गरिएको थियो ।सोअवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले अयोध्या जनकपुरधाम रेल सुरु भएकोले यस वर्ष विगतका वर्षहरु भन्दा बढि श्रद्धालु महोत्सव हेर्न जनकपुरधाम आउने विश्वास व्यक्त गरे । त्यस्तै अयोध्याका मेयर तिवारीले दुबै देशबीचको सम्बन्ध पौराणिक र अटुट भएको उल्लेख गरे ।यही मंसिर २८ गत्ते हुने विवाहपञ्चमी महोत्सवका लागि धुमधामका साथ जनकपुरधाममा तयारी भइरहेको छ । प्रत्येक वर्ष अयोध्याबाट जन्ती बोलाउनका निम्ति अयोध्यामा तिलकोत्सव कार्यक्र गरिन्छ ।










