विराटनगर,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान रहेको बताँउनु भएको छ ।नेपाल पत्रकार महासंघ मोरङ शाखाले आइतबार विराटनगरमा महामन्त्री आचार्यलाई सञ्चार तथा पत्रकारितासँग सम्बन्धित विभिन्न समस्याबारे ध्यानाकर्षण पत्र बुझाएको थियो ।
सोही पत्र बुझ्दै आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा कुनै पनि सम्झौता हुन नसक्ने स्पष्ट पार्नु भयो। उहाँले भन्नु भयो, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा रास्वपा कहिल्यै सम्झौता गर्दैन । हिजो पनि हाम्रो अडान यही थियो, आज पनि छ र भोलि पनि कायम रहनेछ । पत्रकार महासंघले उठाएका विषय र मागलाई गम्भीरतापूर्वक अध्ययन गरेर सम्बन्धित निकायमा पु¥याउनेछु ।’
पत्रकारिता समाजको अभिन्न अंग भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउन रास्वपा प्रतिबद्ध रहेको बताँउनु भयो । महासंघले उठाएका माग सम्बोधनका लागि आफूले पहल गर्ने उहाँको भनाइ थियो ।महासंघ मोरङले बुझाएको ध्यानाकर्षण पत्रमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न खोजेको भन्दै आपत्ति जनाइएको छ । सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेस्र्याएर अवरोध गर्ने घटनामा संलग्नलाई कारबाही नगरी सरकारले दण्डहीनतालाई प्रश्रय दिएको महासंघको आरोप छ ।त्यसैगरी गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) लगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको र श्रम अधिकार उल्लंघन गर्दै पारिश्रमिक उपलब्ध नगराइएको विषय पनि ध्यानाकर्षण पत्रमा उठाइएको छ ।
सरकारी विज्ञापन तथा सूचना वितरणमा सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्नुपर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको, लोककल्याणकारी विज्ञापनमा सरकारले कटौती गरेर सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गरेको तथा सूचनामा पहुँच सीमित गरिएको भन्दै महासंघले आपत्ति जनाएको छ ।प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको श्रम अधिकार सुनिश्चितता तथा सञ्चारमाध्यमको आर्थिक र व्यावसायिक सुरक्षालगायतका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले महासंघले आन्दोलनसमेत गरिरहेको छ ।










