झापा,२१ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेका करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको हो ।चाडपर्वका समयमा हुन सक्ने आगलागी, मानवीय दुर्घटना तथा वातावरणीय प्रदूषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले अवैध विस्फोटकजन्य सामग्री नियन्त्रण अभियानलाई तीव्रता दिएको जनाएको छ ।
अनधिकृत रूपमा भित्र्याइएका ती सामग्री सुरक्षाकर्मी, जनप्रतिनिधि, प्रशासनका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको हो ।सशस्त्र प्रहरी बल नं २ गण झापाले पटाका तथा आतिसबाजीको प्रयोगले विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा असर पर्नुका साथै आगलागी तथा अन्य दुर्घटनाको जोखिम बढ्ने भन्दै यसको प्रयोग नगर्न जिल्लावासीलाई आग्रह गरेको छ ।सुरक्षित र सभ्य रूपमा चाडपर्व मनाउन तथा सम्भावित दुर्घटनाबाट जोगिन प्रहरीले सबैलाई सचेत रहन अनुरोध गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले चाडपर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन अवैध पटका नियन्त्रणको अभियानलाई प्राथमिकतामा राखिएको बताँउनु भयो । उहाँले पटका तथा आतिसबाजीको अनियन्त्रित प्रयोगले हुन सक्ने दुर्घटना र क्षति रोक्न यस्ता सामग्रीको प्रयोग नगर्न जिल्लावासीलाई आग्रह गर्नु भएको छ ।पटका नष्ट गर्ने कार्यक्रममा भद्रपुर नगरपालिका–८ का वडाध्यक्ष मनोज सुब्बा, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी हुनुन्थ्यो ।चाडपर्वमा मनोरञ्जनका नाममा गरिने आतिसबाजीले आगलागी र दुर्घटनाको जोखिम बढाउने भएकाले यसको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रणमा सुरक्षा निकायले निगरानी बढाएको छ ।









