दमक, १ मंसिर ।अब कोशी प्रदेशका १४ जिल्लाका १३७ वटै स्थानीय तहमा उत्पादित कृषि उपज दमकमै किन्न र बेच्न पाइने भएको छ। यसका लागि दमकमा रहेको अर्गानिक कृषि भवन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।दमक नगरपालिकाले उक्त भवन भाडामा सञ्चालन गर्न आह्वान गरेपछि तोकिएको भाडा तिरेर कृषि उपजकै कारोबार गर्ने प्रतिबद्धतासहित कम्पनी छनोट गरिएको हो। वल्ड मार्ट युनिक सोलुसन लिमिटेड (मौलिक ग्रुप) ले उक्त भवन सञ्चालन गर्ने भएको छ। कम्पनी छनोट भइसकेको र अब सम्झौता हुन बाँकी रहेको छ। मासिक तीन लाख रुपैयाँ (भ्याटबाहेक) भाडा तिर्ने सहमतिसहित सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ।
कम्पनीले यसलाई कोशी प्रदेशस्तरीय मौलिक बजार तथा मौलिक भान्सा घरको प्रादेशिक परियोजनाका रूपमा अघि बढाउने तयारी गरेको सञ्चालक सुमन दाहालले बताउनु भयो।कम्पनीले यो परियोजना सञ्चालन गर्नुअघि कोशी प्रदेशका एक सयभन्दा बढी स्थानीय तहसँग सम्झौता गर्ने तयारी गरेको छ। सम्झौताअनुसार सम्बन्धित पालिकामा उत्पादन भएका कृषि उपज उचित मूल्यमा खरिद गरिनेछ। पालिका सरकारले तोकेको मूल्यमा ती उपज खरिद गर्ने सम्झौता भएपछि किसान उत्पादनमा लाग्नेछन् भने कम्पनीले तिनको बजारीकरण गर्नेछ। प्रत्येक उत्पादनलाई छुट्टाछुट्टै लेबलिङ गरी सम्बन्धित पालिकाको पहिचानसमेत खुल्ने गरी बिक्रीका लागि राखिने सञ्चालक दाहालले बताउनु भयो।
यसबाट किसानले आफ्नो उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सक्नेछन्। कम्पनीले प्रदेशभरिका कृषि उपज संकलन गरी दमकस्थित अर्गानिक कृषि बजारमा ल्याएर बजारीकरण गर्नेछ। यसका लागि कोशी प्रदेश सरकारले समेत आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।आइतबार दमकमा आयोजित सर्वपक्षीय छलफलका क्रममा कोशी प्रदेशका कृषिमन्त्री रामप्रसाद मेहताले उपभोक्ताको विषादीरहित कृषि उपज उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न आफूहरूले साथ दिने प्रतिबद्धता जनाउनु भयो।
छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमेत सहभागी हुनुहुन्थ्यो। प्रदेश सरकारको समेत लगानी रहेको यो भवन सञ्चालनमा ल्याउनुपर्ने र यसबाट किसान तथा उपभोक्ताको हित हुने गरी परियोजना सञ्चालन हुनुपर्नेमा आफ्नो अडान रहेको मुख्यमन्त्री कार्कीले स्पष्ट पार्नु भयो।कोशीका पहाडी तथा हिमाली क्षेत्रका सबै पालिकासँग सम्झौता भइसकेपछि ती क्षेत्रका किसानलाई उत्पादन वृद्धि गर्न र संकलित कृषि उपजको बजारीकरणमा समेत सहयोग गर्न आफू तयार रहेको उहाँले बताउनु भयो।
लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको यो भवन अब भने सञ्चालनमा आउने भएको छ। यहाँ विषादीरहित कृषि उपजको किनबेच मात्रै नभई मौलिक भान्सा घरसमेत सञ्चालन हुनेछ। कम्पनीले हाल काठमाडौंमा पनि यस्तै प्रकृतिको परियोजना सञ्चालन गरिरहेको छ।










