विराटनगरमा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने, नयाँ मापदण्ड जारी

विराटनगर,१ मंसिर । विराटनगरमा निश्चित मापदण्ड पूरा गरेका व्यवसायले अब राति २ बजेसम्म सेवा दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालीन व्यवसाय सञ्चालनसम्बन्धी नयाँ मापदण्ड जारी गर्दै इच्छुक व्यवसायीबाट अनुमति प्रक्रियाका लागि निवेदन लिन थालेको हो ।नयाँ व्यवस्थाअनुसार व्यवसायको प्रकृति हेरेर राति १२ बजेदेखि २ बजेसम्म सञ्चालन अनुमति दिइनेछ । पान, मिठाई, चिया, आइसक्रिम, किराना, रेस्टुरेन्ट, खाना–खाजा, दोहोरी तथा गजल व्यवसायले राति १२ बजेसम्म सेवा दिन पाउनेछन् । पब, डिस्को, डान्स क्लब, लाउन्ज बार र लाइभ म्युजिक सञ्चालन हुने स्थानले भने राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न सक्नेछन।

 

प्रशासनले अनुमति लिन चाहने व्यवसायीबाट मंगलबारदेखि निवेदन लिन थालेको छ । तर, निवेदन दर्ता गर्दैमा राति अबेरसम्म व्यवसाय सञ्चालन गर्न पाइने छैन । सम्बन्धित वडा कार्यालयको सिफारिससहित निवेदन दिएपछि अनुगमन समितिले व्यवसायस्थलको निरीक्षण गर्नेछ । तोकिएका पूर्वाधार र सुरक्षा मापदण्ड पूरा भएको पाइएपछि मात्रै अनुमति दिइनेछ ।मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार रात्रिकालीन गतिविधिलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन ‘रात्रिकालीन होटल तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ जारी गरिएको हो । राति १० बजेसम्म व्यवसाय सञ्चालन गर्नेले भने अतिरिक्त अनुमति लिनुपर्ने छैन ।

 

नयाँ व्यवस्थाले विराटनगरको रात्रिकालीन आर्थिक गतिविधि विस्तार गर्ने बाटो खोलेसँगै व्यवसायीका लागि सुरक्षा, श्रमिक अधिकार र ग्राहकप्रतिको जिम्मेवारी सम्बन्धी सर्त पनि तोकेको छ ।राति अबेरसम्म व्यवसाय सञ्चालन गर्न अनुमति पाए पनि मदिरा बिक्री तथा सेवन गराउने समय भने फरक तोकिएको छ । अनुमति प्राप्त व्यवसायले दिउँसो १२ बजेअघि मदिरा बिक्री तथा सेवन गराउन पाउने छैनन् । शुक्रबार राति १ बजेपछि र अन्य दिन राति १२ बजेपछि पनि मदिरा बिक्री तथा सेवन गराउन रोक लगाइएको छ ।मदिरा बिक्री गर्ने पसलका लागि भने बिहान १० बजेदेखि राति १० बजेसम्मको समय तोकिएको छ ।

 

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न चाहनेले व्यवसाय परिसर र आसपासको कम्तीमा १०० मिटर क्षेत्रसम्म पर्याप्त प्रकाशको व्यवस्था गर्नुपर्नेछ । प्रवेशद्वार र सडक देखिने गरी सीसीटीभी जडान गर्नुपर्ने र त्यसको रेकर्ड कम्तीमा ३० दिनसम्म सुरक्षित राख्नुपर्नेछ ।ध्वनि प्रदूषण नियन्त्रणका लागि साउन्डप्रुफ संरचना बनाउनुपर्नेछ । डिजिटल डिस्प्ले बोर्ड, अग्नि नियन्त्रण उपकरण र आपत्कालीन निकासको व्यवस्था पनि अनिवार्य गरिएको छ ।डान्सबार, दोहोरी, लाइभ ब्यान्ड, पब, क्लब तथा डिस्कोमा १८ वर्षमुनिका बालबालिकालाई प्रवेश दिन पाइने छैन । धूमपान गर्नेका लागि छुट्टै क्षेत्रको व्यवस्था गर्नुपर्नेछ ।

 

राति १० बजेपछि घरबाहिर निस्कने ग्राहकले परिचय खुल्ने कागजात साथमा राख्नुपर्नेछ । सुरक्षाकर्मीले माग गरेमा त्यस्तो कागजात देखाउनुपर्ने व्यवस्था छ । होटलमा बस्ने नेपाली तथा विदेशी नागरिकको परिचय खुल्ने कागजातको विवरण पनि व्यवस्थित रूपमा अभिलेख राख्नुपर्नेछ ।मदिरा सेवन गरेका ग्राहकलाई सुरक्षित रूपमा घर वा गन्तव्यसम्म पुर्‍याउने दायित्व पनि व्यवसायीलाई तोकिएको छ । होटल तथा रेस्टुरेन्टले न्यूनतम अतिरिक्त शुल्क लिएर ग्राहकलाई गन्तव्यसम्म पुर्‍याउने सेवा उपलब्ध गराउनुपर्नेछ ।अन्य ग्राहकले समेत सशुल्क सवारी सेवा माग गरेमा व्यवस्था मिलाउनुपर्नेछ । व्यवसायस्थलमा पर्याप्त पार्किङको प्रबन्ध पनि गर्नुपर्नेछ ।

 

प्रशासनले श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्ने व्यवस्थालाई पनि सञ्चालन अनुमति प्राप्त गर्ने अनिवार्य सर्त बनाएको छ । कर्मचारीलाई नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, अतिरिक्त समय काम गरेबापतको सुविधा र जोखिम बिमाको व्यवस्था गर्नुपर्नेछ । तलब बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्नेछ ।राति काम गर्ने कर्मचारीलाई घरबाट कार्यस्थलसम्म ल्याउने र घर पुर्‍याउने यातायात तथा खानाको व्यवस्था व्यवसायीले नै गर्नुपर्नेछ । महिला श्रमिकका लागि सुरक्षित पोसाक परिवर्तन कक्ष र स्तनपान कक्ष बनाउनुपर्नेछ ।कार्यसमयमा कर्मचारीले मदिरा सेवन गर्न वा ग्राहकसँगै बसेर खान पाउने छैनन् । कलाकारले उत्तेजक तथा अमर्यादित पोसाक लगाउन नपाउने र मौलिकता तथा संस्कृति झल्कने प्रस्तुति दिनुपर्ने व्यवस्था पनि मापदण्डमा छ ।

 

यौनजन्य दुर्व्यवहार तथा कार्यस्थलमा हुने अवाञ्छित गतिविधि रोक्न मसाज पार्लर, स्पा र क्याबिनका ढोकामा भित्रबाट चुकुल वा लक राख्न नपाइने व्यवस्था गरिएको छ । स्पामा तालिम तथा प्रमाणपत्र प्राप्त व्यक्तिले मात्रै काम गर्न पाउनेछन् ।स्विमिङ पुल सञ्चालन गर्ने होटलले सेवाग्राहीको न्यूनतम बिमा गर्नुपर्नेछ । क्यासिनो सञ्चालनमा भने क्यासिनो नियमावली, २०८२ अनुसारका प्रावधान लागू हुनेछन् ।यो व्यवस्था विराटनगर महानगरपालिकाभित्र केशलिया र सिंगिया खोलाबीच तथा उत्तरमा विराटनगर स्वागत गेट (ढाट) देखि दक्षिणमा रानीसम्मको क्षेत्रमा लागू हुनेछ । गृह मन्त्रालयको ‘पूर्ण समयमा व्यवसाय सञ्चालन गर्नेसम्बन्धी कार्यविधि, २०७९’ को अधीनमा रहेर प्रशासनले स्थानीय मापदण्ड तयार पारेको हो ।

 

मापदण्ड कार्यान्वयनको अवस्था जाँच्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, विराटनगर महानगरपालिका र व्यवसायीका प्रतिनिधि रहनेछन् । समितिले नियमित तथा आकस्मिक अनुगमन गर्नेछ ।तोकिएको मापदण्ड उल्लंघन गर्ने वा ध्वनि प्रदूषण गर्ने व्यवसायको रात्रिकालीन सञ्चालन अनुमति तत्काल रद्द गरिने प्रशासनले जनाएको छ । उल्लंघनकर्ता माथि प्रचलित कानुनअनुसार कारबाही हुनेछ । श्रमिक माथि हुने दुर्व्यवहार सम्बन्धी उजुरीको कारबाही प्रक्रिया भने गोप्य राखिने मापदण्डमा उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने

दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको

दमकका कर सप्ताहको उद्घाटन , के भने व्यापारीले , अनि कर अधिकृतको चेतावनी कस्तो?

दमक,१ मंसिर । “कर न्याय र सुशासनको सुनिश्चितता ः समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ आज देशभर राष्ट्रिय कर दिवस २०८३ मनाइएको छ। नेपालमा

विराटनगरमा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने, नयाँ मापदण्ड जारी

विराटनगर,१ मंसिर । विराटनगरमा निश्चित मापदण्ड पूरा गरेका व्यवसायले अब राति २ बजेसम्म सेवा दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालीन व्यवसाय

प्रधानमन्त्री र सभापतिसँगको फोटो पोस्ट गर्नेलाई नगद पुरस्कार

काठमाडौं ,१ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणी गेलालले एउटा आश्चर्यजनक घोषणा गर्नु भएको छ । उहाँको घोषणा हो( प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा

स्थानीय नागरिककोे बलियो आवाज पूर्वाञ्चल दैनिक ३२औँ वर्षमा

बिर्तामोड,१ मंसिर । झापाको बिर्तामोडबाट प्रकाशित यस क्षेत्रकै अग्रणी सञ्चार माध्यम ‘पूर्वाञ्चल दैनिक’ आफ्नो तीन दशकभन्दा लामो गौरवमय यात्रा पूरा गरी आजबाट ३२औँ वर्षमा प्रवेश

कात्तिकमा ६४ हजार बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङ,१ मंसिर । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा भक्तजनहरुले दर्शन गर्नु भएको छ । एक महिनाको अवधिमा ६४ हजार १०६