काठमाडौँ,९ मंसिर । विभिन्न मिडिया हाउसमा प्रहरीको हस्तक्षेपविरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । ‘पत्रकारलाई पटकपटक हैन, एकैपटक सामुहिक गिरफ्तार गर’ भन्दै उनीहरूले काठमाडौँ, भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालय अगाडि प्रतिकात्मक प्रदर्शन गरेका हुन् ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशले आयोजना गरेका प्रदर्शनमा पत्रकारहरुले मिडियामाथि राज्य आतंक स्वीकार नहुने बताएका छन् । वर्तमान सरकार गठन भएयता श्रृंखलावद्ध रुपमा मिडियामाथि आक्रमण हुँदै आएको निष्कर्षसहित महासंघले विभिन्न सञ्चार गृहको कार्यालय अगाडि गाडी राख्ने, पत्रकार पक्राउ गर्ने, लोक कल्याणकारी विज्ञापनको रकम कटौती गर्ने, सरकारी सञ्चारमाध्यमबाट पत्रकारलाई निष्कासित गर्नेजस्ता हर्कतविरुद्ध आन्दोलनमा उत्रिनुपरेको बताएको छ ।सरकारले मिडिया माथिको ज्यादती नरोके आन्दोलन थप चर्काउने महासंघको चेतावनी छ ।










