काठमाडौं,९ मंसिर । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नो देशका कुनै पनि कूटनीतिक नियोगमा प्रवेश गरेपनि पक्राउ पर्ने हुनु भएको छ । बंगलादेशकी विदेश मामिलासम्बन्धी राज्यमन्त्री–२ शमा ओबेद इस्लामले विदेशमा रहेका बंगलादेशका ८४ वटै कूटनीतिक नियोगलाई बंगलादेशकै भूभाग मानिने भन्दै हसिना त्यहाँ पुगे पनि पक्राउ गरिने बताँउनु भएको छ ।द डेली स्टारका अनुसार मंगलबार विदेश मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री इस्लामले हसिना बंगलादेश फर्किए तत्काल पक्राउ गरी जेल पठाइने सरकारको अडान दोहो¥याँउनु भएको हो । उहाँले हसिना जहाँ गए पनि पक्राउबाट उम्कन नसक्ने बताँउनु भयो ।
‘विदेशमा रहेका हाम्रा ८४ वटै कूटनीतिक नियोगलाई बंगलादेशकै भूभाग मानिन्छ । उहाँ जहाँ गए पनि पक्राउ पर्नेहुनुन्छ,’ उहाँले भन्नु भयो । राज्यमन्त्री इस्लामले हसिनालाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा दोषी ठहर भइसकेको व्यक्ति भन्दै उहाँमाथि अन्य फरार दोषीलाई लागू हुने कानुन नै कार्यान्वयन गरिने बताँउनु भयो। विदेशबाट फर्किने कुनै पनि अभियुक्त वा दोषीलाई तत्काल पक्राउ गरी जेल पठाइने र हसिनाका हकमा विशेष व्यवहार नगरिने उहाँको भनाइ छ ।उहाँको यो भनाइ हसिनाले आगामी डिसेम्बर १६ मा बंगलादेश फर्किने इच्छा व्यक्त गरेको खबर सार्वजनिक भइरहेका बेला आएको हो । हसिनाले भारतको नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्समार्फत स्वदेश फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन बंगलादेश सरकारसँग आग्रह गरेको समाचार सार्वजनिक भएको थियो ।
तर, राज्यमन्त्री इस्लामले हसिनालाई स्वदेश ल्याउन सरकारले कुनै तयारी नगरेको स्पष्ट पार्नु भया । उहाँका अनुसार हसिनालाई ल्याउन विमान, हेलिकोप्टर, बस, कार वा रिक्सा पठाउने विषयमा समेत सरकारभित्र कुनै छलफल भएको छैन ।‘डिसेम्बर १६ वा १७ मा फर्किने भन्ने राजनीतिक प्रचारको कुनै अर्थ छैन । उहाँ आउन सक्नु हुन्छ, तर आएमा पक्राउ गरी जेल पठाइनेछ,’ उहाँले भन्नु भयो । बंगलादेश सरकारले विदेशमा शरण लिएका दोषी व्यक्तिलाई स्वदेश फर्काउन कूटनीतिक माध्यम र विद्यमान सुपुर्दगी सन्धिअनुसार पहल गरिरहेको पनि उहाँले बताँउनु भयो । यस विषयमा भारत सरकारसँग निरन्तर संवाद भइरहेको उहाँको भनाइ छ ।
राज्यमन्त्रीले अवामी लिगका नेता तथा कार्यकर्ताले बंगलादेशमा अशान्ति सिर्जना गर्ने गतिविधि गरिरहेको आरोपसमेत लगाँउनु भएको छ। देश छाडेपछि हसिनाले आफ्ना समर्थकलाई अलपत्र पारेको उहाँको आरोप थियो । मानवताविरुद्धका अपराधमा दोषी ठहर भएका व्यक्तिलाई राहदानी वा राष्ट्रिय परिचयपत्र जारी गर्न सरकार बाध्य नरहेको पनि उहाँले बताँउनु भयो।यसअघि विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले पनि ढाकामा विदेशी कूटनीतिज्ञलाई जानकारी गराउने क्रममा हसिना स्वदेश फर्किए पक्राउ पर्ने चेतावनी दिनु भएको थियो । उहाँले अवामी लिगले सार्वजनिक शान्ति र व्यवस्थामा असर पार्न सक्ने गतिविधि सुरु गरेको आरोपसमेत लगाँउनु भएको थियो । यसैबीच, हसिनाले स्वदेश फर्किने इच्छा व्यक्त गरेपछि बंगलादेशको सीमा सुरक्षा बल (बीजीबी) ले भारतसँगको सीमा क्षेत्रमा गस्ती बढाएको समाचारमा उल्लेख छ ।
सन् २०२४ जुलाईमा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि अगस्ट ५ मा बंगलादेश छाडेर भारत पुगेकी हसिना त्यसयता नयाँदिल्लीमा रहँदै आँउनु भएको छ । सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेको दिनको सम्झनामा बंगलादेशले हरेक वर्ष डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाउँदै आएको छ । एएनआई










