"बियोगमा फूयाल परिवार"

२३ वर्ष देखिको पारिवारिक बिछोड , आमाको रोदनः ”छोरो टेकेन्द्र तिमी जहाँ छौ चाँडै घर फर्क”

दमक/
झापामा एक जना यूवा २३ वर्षदेखी वेपत्ता हुनु भएको छ । १६ वर्षको उमेर हुँदा घर छोडेर हिड्नु भएका गौरादह २ नं वडाका टेकेन्द्र फूयाल अहिले सम्म घर फर्कनु भएको छैन । कहाँ हुनुहुन्छ कस्तो अवस्थमा हुनुहुन्छ परिवारमा कुनै अत्तोपत्तो छैन । छोरो  अहिले सम्म सम्पर्कमा नआउँदा उमेरले डाढा पारी पुग्नु भएका आमा र बुुबाको अन्तिम इच्छा त्यहि छोरो भेट्ने छ । त्यसैले परिवारले टेकेन्द्रलाई फर्कन अनुरोध गरेका छन् ।


तस्विर धमिलो भएको छ । किनकी त्यसबेला खिचेर राखेको छोरोको फोटो पटक पटक धुलाएर राख्ने क्रममा यो फोटो नै अहिले यस्तो धमिलो भएको छ । यो फोटो हो झापा गौरादह नगरपालिका वडा नं २ क्याम्पसमोडका टेकेन्द्र फूयालको ।
टेकेन्द्रका बुबा खड्ग प्रसाद फूयाल अहिले उमेरले ४ कोरी पुग्नु भयो । अहिले उहाँ घरबाट बाहिर भित्र मात्रै गर्न सक्नु हुन्छ । बुढो शरिर विभिन्न रोगले थलीएको छ । हप्तामा २ दिन डाइलासिस गराएर जिवन बाँचीरहेको छ । छोरो टेकेन्द्र १६ वर्षको उमेरमा घर छोडेर हिडेको र त्यसपछि ८ महिना भएपछि घर आएको पनि उहाँले सुनाउनु भयो ।


त्यसबेला नेपाली चलचित्र बलिदानमा आमाको महिमा देखाइएकोले आमाको खुव याद आएर आएको छोरोले बताउनु भएको थियो । तर त्यहि आमा मातातिर्थ औषिमा आमाको मुख गर्न पाँचथर गएका बेला फेरि घर छोडेर गएको बुबा खड्ग प्रसाद बताउनु हुन्छ । बिरगञ्जको एउटा तेल कम्पनीमा काम गर्छु अहिले सम्म अर्थात ८ महिनाको पैसा लिएको छैन । त्यो तलव लिएर म फर्किहाल्छु भनेर गएको छोरो अहिलेसम्म नर्फिर्किएको उहाँले सुनाउनु भयो ।

बुबाको यो बुढो शरिरले अव कान्छो छोरोको मुखबाट बुबा भन्ने मात्र सुन्न चाहेको बताउनु हुन्छ । छोरोको यादमा बुबालाई अहिले न भोक लाग्छ , न निद्रा । यसैको पीरले शरिर गलीरहेको छ । शरिर निकै कमजोर बनिसकेको छ । बिरामले धेरै च्यापेर केहि समय अघि परिवारका सबैले माया नै मारिसकेका पनि थिए । तर कान्छो छोरोको आवान सुन्ने र एक पटक भएपनि अनुसार हेर्ने पाउँछु कि भन्ने चाहि उहाँमा आशा छ । त्यसैले घरको पिढिमा बसेर बुबाले छोरो आउने बाटो हेरिरहनु भएको छ ।


टेकेन्द्रले बिरगञ्जमा काम गर्दा आफुले नाम पनि फेरेको पछिल्लो पटक घर आएका बेलामा सुनाउनु भएको थियो । ब्राम्हणको छोरो भन्दा त्यहाँ जिस्काउने भएकोले आफ्नो सहजताकालागि उहाँले बिक्रम थापा राख्नु भएको रहेछ । बिरगञ्जको मुक्ति आयल निगममा काम गर्ने उहाँले बताउनु भएको थियो । यतिमात्र हैन उहाँले आफ्नो मालिकको नाम महमत मुसिन पनि हो भनेर समेत घरमा सुनाउनु भएको थियो ।घरबाट निस्केको अन्तिम दिन दिदिसँग टेकेन्द्रको कुरा भएको थियो । दिदि भाई उमेरले एक वर्षका मात्र जेठा कान्छा । दिदि भाई पढ्ने विद्यालय एउटै थियो । गोल्डेन सनराईजमा दुवैजना पढ्ने गरेका थिए । अव ८ महिना विद्यालय छुटेपछि फेरि त्यहि विद्यालयमा पढ्न लाज हुने भन्दै भाईले दिदिलाई सुनाउनु भएको थियो । ‘म एक पटक गएर फर्किहाल्छु तर पहिला पढेको चाहि स्कुल पढ्दिन आएर अर्कै स्कुलमा पढ्छु त्यसबेला भाईले बोलेको अन्तिम वाक्य सम्झदै दिदि सुशिलाले बताउनु भयो ।


आफ्नो काम र काम गर्ने ठाउँका बारेमा यत्तीका जानकारी समेत छोडेर उतै फर्कनु भएका टेकेन्द्र पूल्न फर्कनु भएन । त्यसपछि उतै काम गर्ने टेकेन्द्रका मामाको सहयोग माग्यो परिवारले ।टेकेन्द्रले छोडेको जानकारीका आधारमा मामाले त्यहाँ आयल निगम पनि खोज्नु भयो । खोजी गर्दा त्यो नामको पम्प भेटियो । तर त्यहाँ काम गर्ने कामदारहरुसँग फोटो सहित देखाएर सोधिखोजी गर्दा टेकेन्द्र त्यहाँ काम गर्दैन थिए रहेछन् । त्यसपछि मामाले खोज्ने आधार पनि सकियो । छोरो अहिले सम्म भेटनु त परैको कुरा अहिले सम्म सम्पर्कपनि भएको छैन ।


यता आमा र बुबा हरेक दिन हरेक पल यहि छोरालाई सम्झेर बस्नु हुन्छ । छोरोका यादमा रातमा निन्द्र र खाना खाने बेलामा भोक पनि हराएको छ । आमा र बुबा दुवै रोगी बन्नु भएको छ । छोराका यादमा शरिर कमजोर बनिरहेको छ । आफ्नो काखको छोरो अहिले सम्म नर्फिकएपछि कुन आमाको मन नरोला र । टेकेन्द्रकी आमा चन्द्रमाया फूयाँलको मन पनि भत्तभत्ती पोलेको छ । खाना खाँदा र राती सुत्ने बेलामा छोराको यादले उहाँलाई निकै सताइरहेको छ । उहाँ रुदै रुदै छोरालाई जहाँ भएपनि जस्तो अवस्थामा भएपनि छोरालाई घर फर्कन बिलौना गर्नु हुन्छ ।


परिवारका कान्छा र सबैका प्यारो हुनुहुनथ्यो टेकेन्द्र । परिवारका सबै सदस्यको अधिक माया पाएको र सानो उमेरमै पनि आमाको दुख देख्न नसक्ने टेकेन्द्र । अहिले तपाईलाई यी आमाको याद नआएकै हो त ? यी आमा र बुबाको आशु पुछ्नका लागि तपाई जहाँ र जस्तो अवस्थामा हुनुहुन्छ एकै पटक भएपनि तपाई घर फर्कनुस । परिवार तपाई आउने आशमा बसिरहेको छ । तपाई आउने आशमा बस्दा बस्दै आमा बुबाको सास गयो भने भोली तपाईले आमा र बुबा भन्ने वाक्यले कस्लाई पुकार्नु हुन्छ । त्यसैले तपाई जतिसक्दो फर्कनु । वा तपाईले तपाईको दिदि सुशिलालाई ९८०८८३७७९० मा तुरुन्तै टेलिफोन गरिहाल्नुस ।

Share: