दमक/
ट्रयाक खनिएको ६० वर्षपछि झापाको दमकदेखि इलामको माङ्सेबुङ्ग हुँदै पाँचथरको रबि जोड्ने सडक कालोपत्रेको काम शुरु भएको छ । इलाम र पाँचथरको पश्चिमि क्षेत्रका बासिन्दालाई तराईसँग जोड्ने सडक तीन खण्डमा कालोपत्रे शुरु भएको हो ।
महाभारत पर्वतको दाँयाबायाँ इलाम र पाँचथरको बासिन्दालाई तराईसँग जोड्ने दमक चिसापानी रबी सडकको कलोपत्रे गर्ने काम शुरु भएको छ । दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको फाल्गुनन्द मार्गको स्तरउन्नती र कालोपत्रे गर्ने काम शुरु भएको हो । संस्थागत रुपमा विसं २०४७ सालबाट ट्रयाक खनिएको ४७ किलोमिटर लामो निर्माणाधीन सडकको तीन खण्डमा कालोपत्रको काम अघि बढेको छ ।
सडक डिभिजन कार्यालय दमक मार्फत हुँदै आएको काम पहिलो चरणमा ६ दशमलव २९ किलोमिटर कालोपत्रे हुँदै आएको छ । सडकको पहिलो खण्ड २२ करोड ५९ लाख लागतमा कालोपत्रेको काम भइरहेको छ । महालक्ष्मी र किराँतेश्वर जेभीसँग २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड आगामी चैत्रसम्ममा पूणर्रुपमा कालोपत्र हुनेभए पछि स्थानिय खुसि छन् ।
दोस्रो खण्डको १५ दशमवल २६ किलोमिटर सडक ५४ करोड ४४ लाख लागतमा लुम्बिनी र गणपति जेभीसँग निर्माणको संझौता भएको छ । तेस्रो खण्डको ११ दशमलव ३० किलोमिटर सडक कालोपत्रेका लागि ५९ करोड १५ लाखमा कालोपत्रे हुने सडक डिभिजन दमकले जनाएको छ । ३४ दशमलव ५ किलोमिटर डिपिआर गरिएको मध्ये २५ किलोमिटर सडक खण्ड कालोपत्रेका लागि काम हुँदै आएको छ ।
इलामको माङसेबुङदेखि चिसापानीसम्मको २५ किलोमिटर सडकखण्डलाई कालोपत्रे स्तरमा स्तरोन्नती गर्ने काम हुँदै आएको हो । दमक रबी सडक २०१५ सालमा आई सर्भे भई जनस्तरबाटै ट्रयाक खन्न थालिएको थियो ।