अमेरिका, ३१ भदौ । स्वीकारोक्ति फाउण्डेशनद्वारा आयोजित ‘स्वीकारोक्ति विश्व यात्रा २०२४’ कार्यक्रम समापन भएको छ ।
भोकमरी निर्मूल गर्नु र मानवीय एकताको सन्देश फैलाउने मुख्य उद्धेश्य राखेर सञ्चालन गरिएको कार्यक्रमले ‘एकताको लहरले विश्व जित्न सकिन्छ’ भन्ने सन्देशलाई मनको गहिराइसम्म पु¥याउन सफल भएको विश्वास गरिएको छ ।
अभियान समापनका अवसरमा क्यानडामा दुई दिने कार्यक्रम भयो । समापन कार्यक्रममा स्वीकारोक्ति फाउन्डेशन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय प्रमुख कर्ण गुरुङले यस विश्व यात्रा सकारात्मक भावसहित खुशी, शान्ति र सद्भाव फैलाउने विशेष उद्देश्यका साथ आयोजना गरिएको बताउनुभयो । गुरुङले स्वीकारोक्ति दर्शन र सकारात्मक सोचको महत्वबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा स्वीकारोक्ति फाउन्डेशनका प्रतिपादक एवम् संस्थापक डेन्जम साम्पाङले स्वीकारोक्ति दर्शन र यसको महत्वबारे गहिरो विमर्श गर्नुभयो । स्वीकारोक्तिको भूमिका र दर्शनबारे गम्भीर विमर्श गर्ने क्रममा सुसन माझीले ‘स्वीकारोक्तिको भूमिका परिवार र समाजमा रहेको’ विषयमा विमर्श प्रस्तुत गर्नुभयो ।
नारद खरेल ‘निडर’ले स्वागत गर्दै अतिथिहरूलाई खादा लगाएर सम्मान गरेपछि रोहित खरेलले कार्यक्रम सफल पार्ने सम्पूर्ण पक्षलाई आभार व्यक्त गर्नुभयो । उहाँले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो ।
लेखक राज बरालले ‘स्वीकारोक्तिः द्वन्द्व निरुपणको सास्वत सिद्धान्त र अन्तिम सत्य’ विषयमा चर्चा गर्नुभयो । आभाष रिखामले युवामा शिक्षा र स्वीकारोक्तिको भूमिकाबारे मन्तव्य व्यक्त गर्नुभयो । भद्रवाज सरगमले संस्कृति र पहिचानबारे छोटो मन्तव्य राख्नु भयो । साहित्यकार तथा समाजसेवी ओम गोर्खाली अधिकारीले ‘वर्तमान सन्दर्भमा साहित्यको भूमिका’ बारे विचार व्यक्त गर्नुभयो ।
गायक किरण गजमेरले ‘देखेर तिमीलाई’ ‘छोडी हिँडेउ’ गीतले मन्त्रमुग्ध पार्नुभयो । रमेश देशारले ‘नयाँ मुना–मदन’ नाटक प्रस्तुत गर्नुभयो । जसलाई गीतसहित सम्पन्न गरियो । कमल कार्की र सुबास प्याकुरेलले ‘सिरानमा फोटो छ’ बोलको गीत प्रस्तुत गर्नुभयो ।
सन्तोष राईले ‘हङकङ पोखरा’ गीत प्रस्तुत गर्दा कर्ण गुरुङसहितबाट विशेष नृत्य प्रस्तुत भयो । सुवास प्याकुरेलले ‘साथी’ ¥याप गीत प्रस्तुत गरेर दर्शकहरूलाई रमाइलो माहोलमा ल्याउनुभयो। कमल कार्कीले ‘जोमसोमै बजारमा’ गीत प्रस्तुत गरेर दर्शकलाई उसैगरी तरंगित पार्नुभयो ।
कृषा खरेलले कलात्मक प्रस्तुति दिनुभयो भने रविन साम्पाङले बान्तावा कविता वाचन गर्नुभयो । जसको नेपाली अनुवाद पनि गरियो । नारद खरेल, लक्की रासी र नारद खरेलले कविता प्रस्तुत गर्नुभयो । खरेलको ‘बालक’ कवितामा सात जना बालबालिकाहरूले सहभागिता जनाएका थिए । खरेलले कविता ‘कालो जुम्रो’ पनि वाचन गर्नुभयो ।
विश्व भूटानी साहित्य मञ्चका महासचिव पातलो अन्तरले कार्यक्रमको सञ्चालन गर्दै अभियानका क्रममा नेपालको काठमाडौ, झापा, भारतको आसाम तथा युरोप र अमेरिकाका विभिन्न ठाउँमा सन् २०२४ मा कार्यक्रम गरिएको जानकारी गराउनु भयो ।









