धनकुटा ७ का उदयबहादुर श्रेष्ठ ‘कुमार’ले मेरा गजलहरु युट्युबमा निक्कै पहिले देखि सुन्नु हुँदोरहेछ, हेर्नु हँुदोरहेछ । र, निक्कै मन पराउनु हुँदोरहेछ ।आफ्नो सामाजिक सञ्जालमा पनि शेयर गर्नु हुँदोरहेछ । उहाँले आफ्नो प्रदेश १-०२,००३ त,२६५८ नं को गाडीमा मेरा दुई शेरहरु लेख्नु भएछ ।
उहाँले गाडी चलाउन थालेको १४ साल भएछ । जिन्दगीको ३३ सालले उहाँलाई तमाम हण्डर दिएको रहेछ । गाडीको चाबी बक्समा राहदानी सँगै उन्नत जिन्दगीको सपनालाई कच्याककुचुक पारेर बन्द गरेर उहाँ १४ सालदेखि अझैँ भोक र पेटसँगको लडाईसँग हाँस्दै लडिरहनु भएको छ । जसरी तपाईँ र म पनि आ-आफ्नो ठाउँमा भोक र पेटसँग लडिरहेछौँ ।
हण्डर खाएको मानिस अक्सर साहित्य, संगीत, कलातर्फ झुकाब राख्छ नै । साहित्य, संगीत सामान्य मान्छेको बसको बात होइन, यसै भनिएको होइन होला ।
यो तस्वीर मलाई धनकुटाबाट केही समय अघि मेरा पुज्य दाजी कवि मुकुन्द प्रयासले बडो खुशी हँुदै पठाउनु भएको हो । तस्वीर देखेपछि म निक्कै खुशी भएँ र उहाँसँग आफु बात गर्न निक्कै उत्सुक रहेको बोलें । मुकुन्द दाजीले कुमार जी को नम्बर उपलब्ध गराइदिनु भएपछि मैले कुमार जीसँग ५ मिनेट १ सेकेण्ड फोनमा बात गरेँ । उहाँले आफुले धेरै सालदेखि सुन्दै, हेर्दै आएको व्यक्तिको अचानक फोन आउँदा सर्प्राइज भएको भन्दै खुशी व्यक्त गर्नु भयो ।
केही सालअघि काठमाडौँ-पोखरा-बाग्लुङको गाडीमा मेरा शेरहरु लेखिएको तस्वीरहरु पाए थेँ । त्यो भन्दा पहिले झापा-धरानको टेम्पोमा पनि मेरा शेरहरु लेखिएका थिए ।
मैले गजल लेखेर कमाएकै यही हो । नेपाली गजल यहाँसम्म पुग्नु नै म र मेरालागि भयंकर ठूलो बात हो ।
मुकुन्द दाजी सहित कुमार जीलाई सतसत आभार । ईश्वरले उहाँका सबै प्रार्थनाहरु कबुल गरुन् ।
घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु ?
तिमी छैनौ भएर यो जवानी भएर के गर्नु ?
न खान दिन्छ न भोक मेटाउँछ पेटको ।
छ न त छ उसको पनि राहदानी के गर्नु ॥
कैलाली टीकापुर, हाल – काठमाडौं