विराटनगर, पुस १२
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले वर्तमान समयमा भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।
शुक्रबार सुनसरीको इटहरीमा उद्योग संगठन मोरङले आयोजना गरेको व्यवसायिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन प्रणाली विषयक गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो धारणा राख्नु भएको हो । उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले निजी क्षेत्रसँंग सहकार्य गरिरहेको जानकारी दिनुहुँदै भन्नुभयो ‘समस्या समाधान गर्न सरकार गम्भिर छ नै । यसमा पनि अहिले देखिएका समस्याको समाधान गर्दै, औद्योगिक कामदारले भोग्नु परेका समस्याहरुका विषयमा गोष्ठीको निष्कर्षले मद्दत पुग्ने विश्वास लिएको छु ।’
गोष्ठीको निष्कर्ष सरकारलाई औद्योगिक सुरक्षा र स्वास्थ्य सम्बन्धि नीति बनाउनका लागि समेत कोशेढुंगा सावित हुने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
उद्योग संगठन मोरङसँग प्रदेश सरकारले निरन्तर सहकार्य र अन्तरक्रिया गरिरहेको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन सफल बनाउन पनि सल्लाह सुझाव पाइरहेको उल्लेख गर्नुभयो ।