आहा-रारामा एपीएफको उडान

पोखरा — उद्घाटन खेलमै एपीएफ क्लबसँग आयोजक सहारा क्लब फेरि पराजित हुन पुगेको छ । बिहीबार २० औं आहा-रारा गोल्डकप फुटबलको उद्घाटनमा सहारा २-० ले स्तब्ध भयो ।

दर्शकविहीन पोखरा रंगशालामा एपीएफसँग यसपालि सहारालाई दुईपल्टको हारमा बदला लिने मौका थियो । १७ र १९ औं संस्करणको उद्घाटन खेलमै आयोजकलाई हराएको एपीएफले यो सिजन पनि सहारालाई हराउन सफल भयो । एपीएफको उद्घाटन खेलमा सहाराविरुद्ध ह्याट्रिक जित बनेको छ । एपीएफका आवास लामिछाने र प्रदीप लामाले गोल गरेका थिए ।

स्पेनमा रहेर व्यावसायिक फुटबल खेलिसकेका आवासले १४ औं मिनेटमा गोल गर्दै विभागीय टोलीलाई अग्रता दिलाए । युरोपियन फुटबलको अनुभव बोकेका उनले प्रतियोगितामा डेब्यु गरे । एपीएफका अर्मान्ड बिडाउनको पासमा आवास दुई डिफेन्डर बिट गर्दै वान टु वान मुभमा गोल गर्न सफल भए ।

अजयी मार्टिन्स, पिटर सेगुनसहित सातदोबाटो युथका ५ खेलाडी लिएर प्रतियोगितामा उत्रिएको आयोजक टोलीमा भने समन्वय अभाव प्रस्ट खट्कियो । त्यसको फाइदा उठाउँदै एपीएफले ६० औं मिनेटमा अर्को गोल थप्यो । गोल प्रदीपले गरेका थिए । मिडफिल्टर रवि थिङको क्रसलाई प्रदीपले नियन्त्रणमा लिँदै दुई डिफेन्डरबीचबाट पहिलो बार च्याप्दै गोल गरेका थिए ।

त्यतिबेला सहाराका गोलरक्षक अभिषेक बरालले कुनै प्रतिक्रिया जनाउन सकेनन् । सहाराका केही खेलाडीको प्रयासलाई एपीएफका गोलरक्षक कुरियामा युयाले बिफल बनाए । उनी जापानका हुन् । उनी आबद्ध भएदेखि एपीएफले हारेको छैन । ‘ए’ डिभिजन लिगको तालिकामा नवौं नम्बरमा रहेको एपीएफ तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको हो ।

त्यसो त केही राम्रा अवसर सदुपयोग गर्नबाट एपीएफ चुक्यो । खेलको २३ औं मिनेटमा अर्मान्डको पासमा बिक्की तामाङको पेनाल्टी बक्सभित्रको प्रहार आकासिएको थियो । खेलको ५३ औं मिनेटमा कप्तान नवीन लामाको फ्रिकिकमा अर्मान्डको हेडर क्रसबारमा लाग्दै बाहिरियो । ६३ औं मिनेटमा अर्मान्डको प्रहार पोलमा लाग्दै फर्किएपछि एपीएफले अग्रता बढाउन चुक्यो ।

सहाराका मुकुन्द निउरेले पहिलो हाफको इन्ज्युरी समयमा पाएको अवसर सदुपयोग गर्न सकेनन् । कप्तान मानबहादुर तामाङको फ्रिकिक एपीएफका गोलरक्षक कुरियामाले नियन्त्रणमा लिन नसक्दा निउरेको प्रहार डिफेन्डर एडामा डोम्बियाले हेडबाट क्लियर गरिदिए । खेलमा नवीन लामा म्यान अफ द म्याच बने ।

सहाराका प्रशिक्षक प्रल्हाद हिराचनले आफ्ना खेलाडीबीच समन्वयको अभाव हुँदा सोचेजस्तो नभएको स्वीकारे । ‘ए’ डिभिजन लिग जारी रहँदा अर्को टोलीबाट सहारामा आउनुपर्ने खेलाडी समयमा आउन नसकेकाले अभ्यासको कमी खेलमा देखिएको उनले सुनाए । ‘हाम्रो टिम सेटअप हुन गाह्रो भयो,’ उनले भने, ‘त्यसले गर्दा एट्याकिङ लाइन पनि बलियो बन्न सकेन ।

’ एपीएफका प्रशिक्षक कुमार थापाले विपक्षी टोलीमा धेरैतिरका खेलाडी मिसिएकाले त्यसको फाइदा आफूले लिएको बताए । ‘सहारामा फरक-फरक टिमबाट खेल्ने खेलाडी हुँदा हामीलाई सजिलो भयो,’ उनले भने, ‘सोचेभन्दा गोल कम भयो । गोलअन्तर बढाउन सकेको भए अर्को खेलमा आत्मविश्वास बढ्थ्यो ।’

घरेलु लिग अहिले विश्रामको अवस्थामा रहेकोमा ‘सेप’मा बसिरहन मोफसलको प्रतियोगिताले सहयोग पुर्याएको उनको भनाइ छ । अब एपीएफले क्वाटरफाइनलमा अमेरिकाको भुटानिज युथ स्पोर्ट्स क्लब (बीवाईएससी) मिनेसोटासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक क्लबले कोरोना महामारीलाई मध्यनजर राख्दै दर्शकका लागि टिकट बिक्री गरेको छैन । प्रायोजक, अफिसियल र सञ्चारकर्मीलाई मात्रै राखेर खेल खेलाइएको छ । क्वाटरफाइनल सुरु हुँदासम्म कोरोनाको अवस्था हेरेर टिकटबारे क्लबले निणर्य गर्नेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री र प्रहरीको भूमिका माथि राष्ट्रियसभामा प्रश्न

काठमाडौं,९ भदौ । नेकपा (एमाले) का राष्ट्रियसभा सांसद सोमनाथ पोर्तेलले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या प्रकरणमा गृहमन्त्री र प्रहरी प्रशासनबाटै अमानवीय र

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको पुरक निवेदन, ११ भदौमा पेसी

काठमान्डौ,९ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पुरक निवेदन

मुद्दा हारेपछि सर्वोच्चबाट हामफाल्ने प्रयास, सकुशल उद्धार

काठमाडौँ,९ भदौ । स्थित सर्वोच्च अदालतको पाँचौं तलाबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका एक व्यक्तिको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। कारणः लालबहादुर राई नाम गरेका

जसपा नेपालद्वारा लुम्बिनीका तीन सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौँ,९ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्ने आफ्ना तीन प्रदेश सभा सदस्यहरूसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण

महिला ट्राफिक प्रहरी माथि हातपात गर्ने युवक बानेश्वरबाट पक्राउ

काठमाडौं , ९ भदौ। बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा बुझाए आँखाको स्वास्थ्य रिपोर्ट

काठमाडौँ,९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाउनु भएको छ ।स्वास्थ्यमा देखिएको समस्याका