हिजो अपरान्हदेखि नै देशभरका सञ्चारकर्मीको मनमा वेचैनी बढेको छ । हिजो दिनभर तिनै पत्रकारहरुले पत्रकार महासंघको स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमहरुमा सरिक भएर आपसमा खुसी साटेका थिए । संघीय राजधानी काठमाडौंका मिडिया हाउसमा काम गर्ने धेरै श्रमजीवी पत्रकारलाई भने त्यस्ता कार्यक्रममा सरिक हुने चाँजो नै मिलेन । कारण थियो— आफूलाई राजावादी बताउने समुह र माओवादीसहितको समाजवादी मोर्चाले आयोजना गरेका प्रदर्शन तथा सभाको रिपोर्टिङमा बिहानैदेखि फिल्डमा जोतिनै पर्ने पेशागत बाध्यता ।
देशमा ठूल्ठूला विपत्तिका घटना हुन् या झडप र प्रदर्शन, सबैठाउँमा अग्रमोर्चामा देखापर्छन् पहेँलो प्रेसज्याकेट लगाएका फोटो पत्रकारहरु । हात र काँधमा बडेमाका क्यामेरा, तिनमा प्रयोग हुने थरिथरिका लेन्स, बुममाइक, त्यसमाथि क्यामेरा व्याग बोकिरहँदा पनि उनीहरुले आफ्नो ज्यान भन्दा पेशागत धर्मको बढी माया गरिरहेका हुन्छन् । जोखिम देख्दादेख्दै पनि उनीहरु सकेसम्म फिल्डमा खटिएर फोटो÷भिडियो खिच्न आतुर देखिन्छन् । प्रतिस्पर्धी मिडियाहाउसका सहकर्मीको भन्दा छिटो र उत्कृष्ट फोटो÷भिडियो कसरी निकाल्ने ध्याउन्नमा उनीहरुले भोकप्यास, जाडो–गर्मी सबै भुलिरहेका हुन्छन् ।
हुन त फोटोपत्रकारजत्तिकै जोखिममा फिल्डमा खटिएका अरु पत्रकार पनि हुन्छन् । तर, क्यामेरा बोक्नेहरुले जति समाचार लेख्नेले भीडको अघिपछि फुटबलको एम्पाएर जस्तो दौडिनु भने पक्कै पर्दैन ।
प्रसङ्ग हिजोकै ।
काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समुहले प्रदर्शनसहित सभा गर्दै थियो । उता भृकुटीमण्डपमा प्रमुख प्रतिपक्षी दल माओवादी सहित समाजवादी मोर्चाले लाखौं मान्छे उतारेर राजावादी भनिनेहरुलाई चुनौती दिइरहेको थियो । दुबै कार्यक्रम मिडियाहाउसका लागि ‘विग मसला’ बन्नेवाला थिए । त्यसैले पनि क्यामेरापर्सन र रिपोर्टरहरु बिहानैदेखि व्यस्त हुने नै भए ।
यही व्यस्तताका बीच एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकसहित दर्जनौं सञ्चारकर्मी तीनकुनेमा खटिएका थिए । सुरुदेखि नै लोकतन्त्र पक्षधरविरुद्ध उग्र नारावाजीमा उत्रेका राजावादी समुहले सुरक्षाकर्मीको घेरा तोडेर उद्दण्डता देखाउन थालेपछि फोटो पत्रकारहरु असिनपसिन हुँदै सुरक्षाकर्मी र प्रदर्शनकारीलाई पछ्याउन थाले । यस क्रममा कतिपय फोटो पत्रकार आसपासका अग्ला घरमाथि चढेर सुरक्षितसाथ दृश्य खिच्नुपरेको थियो । सुरेश पनि यस्तै ठाउँको खोजी गर्दै प्रदर्शनकारीको निशानामा परिसकेको तीनकुनेस्थित एक घरमा चढेर दृश्य लिइरहेका थिए । यस्तैमा प्रदर्शनकारीले उनी रहेको कोठा वन्द गरिदिएर त्यस घरमा आगो सल्काइदिए । अन्ततः थुनिएकै कोठामा छट्पटाउँदै रजकले प्राण त्यागे । निरंकुशता पक्षधर राजावादीहरुको पहिलो निशानामा फेरि पत्रकार परे । अनि उल्लासपूर्वक स्थापना दिवस मनाउने तयारीमा रहेका सञ्चारकर्मीहरुलाई यो आततायी घटनाको प्रतिवादमा सडक सघर्षमा उत्रन बाध्य पार्यो ।
राजतन्त्र पुनस्र्थापना गरिछाड्ने रटानमा केही समयदेखि एउटा समुह निकै सक्रिय देखिन्छ । पर्दा बाहिर पञ्चायतकालीन वयोवृद्ध नेता नवराज सुवेदी त्यसको संयोजक छन् । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्यसको कमाण्डर तोकिएका छन् । उनीहरुको एउटै नारा छ —‘ नेताहरुले देश लुटे, अव राजा ल्याएर यो देश बचाउने हो ।’ यो नाराले केही युवालाई पनि आकर्षित गरेको पाइन्छ । तर, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा आम नागरिकले भोगेको चरम पीडा र त्यसबेलाका सत्तासीनहरुको भ्रष्ट र अराजक शैली अहिले २२ / २४ वर्षका युवाले प्रत्यक्ष भोग्नै पाएका छैनन् । त्यही भएर पनि राजावादी वताउने समुहले त्यस्ता युवालाई आफ्नो पछि लगाउन सफल भएको सहजै आँकलन गर्न सकिन्छ ।
केही बेर फर्कौं शाही शासनकालतर्फ ।
२०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्डपछि तत्कालीन सरकारले ज्ञानेन्द्र शाहलाई नेपालको राजा घोषणा ग¥यो । दोस्रो पटक राजा हुने सौभाग्य पाएका ज्ञानेन्द्र शाहमा त्यसपछि ‘राजउन्माद’ निकै उर्लियो । हुँदाहुँदा उनले दलहरुमाथि नै यसरी हमला गरे कि त्यसबेलाका सबै नेतालाई नजरवन्दमा राखेर शासनको बागडोर आफैं सम्हाले । त्यसपछि सुरु भए नेपालीका कहालीलाग्दा दिन ।
२०६१ माघ १९ को ज्ञानेन्द्र ‘कू’ले सबैभन्दा बढी पींडा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई दियो । त्यसपछि नागरिकका सबै अधिकार कुण्ठित पार्दै सञ्चारमाध्यमाथि पनि प्रतिवन्ध लगाइयो । जसोतसो चलेका सञ्चारमाध्यममा पनि त्यहाँ कार्यरत पत्रकार र सम्पादकले होइन, बन्दुकधारीका सेनाका मान्छे पसेर समाचार सम्पादन गर्न थाले । तैपनि व्यावसायिक धर्मबाट त्यसबेला धेरै सञ्चारमाध्यम चुकेनन् । न टेलिफोन, न इन्टरनेट, न त काम गर्ने वातावरण नै । सरकार सञ्चालकहरुको पहरेदारी गर्ने मिडियाहाउसहरु सत्ताधारीको गुनगान नगाए बाँच्ने नसक्ने अवस्थामा पुगेका थिए । बन्दुकको कुन्दामुनि पत्रकारिता गर्नुपर्दाको त्यो क्षणको बयान नयाँ पुस्ताका कतिपय सञ्चारकर्मीका लागि दन्त्यकथा पनि लाग्न सक्छ ।
पत्रकारिताका दौरान मैले धेरै पटक सेना, प्रहरी र तत्कालिन अवस्थामा भूमिगत माओवादीको ज्यादति भोगेको छु । मेरो पुस्ताका थुप्रै सहकर्मीहरुले त्यस बेला शाही ज्यादतीको विरुद्ध सडक संघर्ष गर्दा थुप्रैपटक जेलनेल र यातना खेप्नु परेको छ । केही सहकर्मीले ज्यान समेत गुमाएका छन् ।
ती कहालीलाग्दा दिनहरु फेरि सम्झनु नपरोस् भन्ने लागेको थियो । तर, हिजो सुरेश रजकजीलाई घरभित्र थुनेर आगो लगाइएको घटनाले मेरो मन नराम्ररी पोलेको छ । मजस्तै अरु साथीहरुलाई पनि त्यस्तै भएको रहेछ ।
रजकजीको यो विभत्स हत्यापछि फेरि हामी सडकमा उत्रन बाध्य भएका छौं । खुसी र उल्लासका साथ पत्रकार महासंघको स्थापना दिवस मनाउनुपर्ने दिनमै सडक संघर्षमा उत्रन हामीलाई बाध्य पार्ने समुहलाई कदापि राजनीतिक प्राणी मान्न सकिंदैन ।
नेपाल पत्रकार महासंघले आज विर्तामोडमा आयोजना गरेको विरोधसभामा सहकर्मी कृष्ण हुमागाईं ( हाल नेपाली काँग्रेस झापाका सचिव ) ले त दाबाका साथ नै भन्नुभयो—‘ज्ञानेन्द्र शाह ‘पूर्वराजा’ हुँदै होइनन् , शाहवंशका अन्तिम राजा हुन् ।
जनताले ठूलो संघर्ष गरेर प्राप्त गरेको लोकतन्त्र मासेर सुशासन खोज्नु उनी र उनलाई साथ दिने समुहकाे दिवास्वप्रनमात्र हुने छ ।









