काँकडभिट्टा, २३ चैत । १९९३ मा नारायणकुमार सुवेदी भुटानबाट लखिटिएर नेपाल आउँदा छोरा आशिष एक वर्षका थिए । बाबुको काँधमा चढेर मेची पार गरेको दिन जनवरी ३, १९९३ मा उनी पहिलोपल्ट ‘भुटानी शरणार्थी’ का रुपमा दर्ज भए ।
सन् २०१६ को जुलाई २ मा तिनै आशिष आईओएमको लोगो अंकित सेतो झोला भिरेर अमेरिकाका लागि उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । संयुक्त राष्ट्रसंघीय उच्च आयोगको पहलमा भइरहेको तेस्रो देश पुनस्र्थापना कार्यक्रमअन्तर्गत अमेरिका उड्न पाउँदा यी २४ वर्षे युवामा छुट्टै उमङ्ग छाएको थियो ।
यसरी अमेरिका उडेको १० वर्ष नहुँदै आशिष फेरि भुटानी शरणार्थी बनेर नेपाल आइपुगेका छन् । यो उनको दोस्रो ‘ शरणार्थी यात्रा’ हो । तर,पहिलोपल्ट शरणार्थी बन्दा उनले आफ्ना बाबुसँगै शिविरको स्यानो छाप्रो र युनएनएचसीआरले दिने दालचामल पाएका थिए । यसपालि भने प्रहरी धरपकड ।
अमेरिकाबाट ‘डिपोर्टेसन’ मा परेका १० जना युवासँगै भुटानबाट लखेटिएपछि केही दिनअघि उनी सीमाक्षेत्र पानीट्याँकीबाट लुक्दैछिप्दै आफ्ना बाबुले आश्रय लिइरहेको बेलडाँगी शिविरमा आइपुगेका थिए । त्यहाँ पनि उनी सुरक्षित भएनन् । अवैध रुपमा नेपाल प्रवेश गरेको भन्दै नेपाल प्रहरीले पक्रेर उनलाई अध्यागमनको जिम्मा लगाएको छ । गएको शनिवार प्रहरीले आशिषसँगै पक्राउ गरेकामध्ये सन्तोष दर्जी, रोशन तामाङ र त्यसको चार दिनपछि बाहुनडाँगीबाट नियन्त्रणमा लिएका अशोक गुरुङ अहिले काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयभित्र राखिएका छन् ।
यसरी अमेरिकाबाट निश्कासनमा परेर र भुटानबाट जवर्जस्त लखेटिएर नेपाल आइपुगेका आशिषहरु यतिबेला राज्यविहीन अवस्थामा छन् । उनीहरुको व्यवस्थापनबारे नेपाल सरकारले अहिलेसम्म कुनै योजना बनाउन सकेको छैन । प्रहरीले कुनै अपराधीझै पाकेको खाना पनि खान दिई पक्राउ गरेर अध्यागमनमा वुझाएको पनि एक साता वितिसकेको छ । यो बीचमा उनीहरुलाई भेट्न भनेर आशिषका बाबु नारायण, फुपूहरु र अरु केही आफन्त बाहेक अरु कोही पुगेका छैनन् । पटक पटकको प्रयासमा पनि उनीहरुसँग भेट गर्न नपाएको यो प्रतिनिधिले भने अधिकारवादी संस्था इन्हुरेड इन्टरनेशनलका अध्यक्ष गोपालकृष्ण शिवाकोटीको साथ लागेर गत वुधवार इलाका प्रहरी कार्यालयको एक कोठामा बसेर कुरा गर्ने मौका पाएको हो । साथमा थिए–भुटान पिपल्स पार्टीका अध्यक्ष वलराम पौडेल ।
करिव एक घण्टाको कुराकानीमा आफूहरुको अवस्थाबारे अलि खुलेर कुरा पनि आशिषले नै गरे । अरु तीन जना भने आफ्ना कुरा राख्न निकै डराइरहेका थिए ।
यसरी आइपुगेका रहेछन् उनीहरु
अमेरिकामा बन्दीगृहमा राखिएका वा त्यहाँबाट छुटिसकेका केही युवालाई त्यहाँको इमिग्रेसन पु¥याइयो । केही समय आईसीई ( इमिग्रेसन मान्छे ) को निगरानीमा राखियो । त्यसपछि न्युजर्सीस्थित विमानस्थलमा पु¥याइयो । त्यहाँ पु¥याएपछि मात्र उनीहरुलाई आफूजस्तै १० जनालाई भुटान ‘डिपोर्ट’ गरिएको थाहा भयो । नयाँदिल्लीका लागि उड्न लागेको युनाइटेड एयरलाइन्सको विमानभित्र पसेपछि मात्र उनीहरु एकआपसमा चिनापर्ची भएका हुन् । ती १० जनामध्ये अहिले थुनिएका ३ जनामात्र हुन् । प्रहरी हिरासतमा रहेकामध्ये अशोक गुरुङलाई अर्कै फ्लाइटमा नयाँदिल्ली हुँदै भुटानको पारो विमानस्थलमा ओरालिएको वताइएको छ । गुरुङको साथ अरु दुई जना पनि थिए । उनीहरु कहाँ गए, अहिलेसम्म पत्तो छैन ।
नयाँदिल्लीमा करिव ८ घण्टाको ट्रान्जिटपछि ड्रुक एयरको जहाजमा राखेर पारो विमानस्थल ओरालियो । साथमा आईसीईका १८ जना मानिस पनि थिए । विमानस्थलमा भुटानका अधिकारीहरुले स्वागतसत्कारसाथ नजिकको ग्रान्ड होटलमा पु¥याए । त्यहाँ सबै जनालाई अलग अलग कोठामा राखियो । व्रेकफास्ट, लन्च र डिनर पनि मज्जैसँग दिइयो । त्यतिखेरसम्ममा आईसीईका मान्छे उनीहरुलाई छाडेर गइसकेका थिए ।
भोलिपल्ट बिहान, प्रहरीले सबैजनालाई एक एक गर्दै बोलायो । सबैको फिङ्गरप्रिन्ट लियो । अनि ६ जना प्रहरीले अनेकथरि प्रश्नले घेर्न थाले ।
एउटा प्रश्न थियो — तिमीहरु कहाँ जन्मेका हौ ?
अर्को थियो — जोङ्खा भाषा आउँछ कि आउँदैन ?
आफन्तहरु कहाँ छन् ? आदि इत्यादि ।
त्यस क्रममा सबै जनाको भिडियो रेकर्ड पनि गरियो ।
अनि अन्तिममा भनियो — ‘तिमेरका सबै साथी नेपाल जान तयार भए । अव तिमी पनि उही जाऊ । तिमी नेपालमै जन्मेका रहेछौं । तिम्रो देश त्यही हो ।’
पहिलो चरणमा डिपोर्ट गरिएका १० जनामध्ये अन्तिम अन्तर्वार्ता दिने आशिष थिए । त्यति बेला उनी डरले काँपिरहेकै थिए । रातभरिको यात्रा, नयाँदिल्ली ट्रान्जिटको ८ घण्टे थकान । अनि भुटान प्रहरीको एक्कासी घेरावन्दी । त्यसमाथि उनीहरुलाई भुटानको जेलमै कोचिनुपर्ने अर्को भय पनि छँदै थियो ।
भुटान प्रहरीले सुरुमा उनीहरुलाई नेपाल पुग्ने खर्च भनेर १० हजार भारु दियो । सीमावर्ती फुन्चोलिङ पुगेपछि अरु २० हजार दियो । र, ट्याक्सी रिजर्भ गरिदिएर हरेकलाई आधा आधा घण्टाको फरकमा हिंडायो ।
पहिलो ट्याक्सीमा थिए— आशिष, रोशन र सन्तोष । ट्याक्सीले उनीहरुलाई पानीट्यांकीमा ओरालेर फर्कियो । त्यो ट्याक्सीमा रहेका आशिषका बाबु बेलडाँगीमा थिए । अरु दुई जनाका आफन्तको कुनै टुंगो थिएन । त्यही भएर उनीहरु सरासर आशिषको जाने भन्दै पानीट्याकीको मेची पुल आएर सिटीसफारी चढे । तर, बीचमा आएपछि सिटीले कागज निकाल्नु भन्यो । साथमा कुनै कागज नभएपछि उनीहरु बीचमै ओर्लिए । त्यहाँ आइपुगे केही विचौलिया । ती विचौलियाले साढे २२ हजार भारु लिएर चोर बाटो हुँदै नेपाली सीमावर्ती तामाङ गाउँ ल्याएर छाड्यो । त्यहाँ एउटा नेपाली गाडी पनि उनीहरुलाई लिन पुगेको थियो । त्यसले काँकडभिट्टामा ल्याएर छाड्यो । त्यस साँझ उनीहरु अर्को गाडी रिजर्व गरेर बेलडाँगी पुगेर बसे ।
अमेरिकाबाट निकालिएका युवाहरु आइपुगेको हल्ला एकएक गर्दै शिविरभरि फैलियो । डर र त्रासबाट उम्केको खुसीमा रातभरजसो युवाले आशिषका बाबु वस्ने छाप्रोमा रामरमाइलो गरेर बिहान ४ वजेतिर सुते । भोलिपल्ट बिहान उनीहरुका लागि भनेर छाप्रोभित्र ‘मीठोमसिनो’ पाक्दै थियो । तर, त्यो खानै नपाई प्रहरीले समात्यो । र, साँझ बाँकडभिट्टा ल्याएर अध्यागमनलाई बुझायो ।
यसरी प्रहरी कष्टडीभित्र शरणार्णी जीवनको दोस्रो यात्रा सुरु भएको आज ठ्याक्कै एक साता भयो । यहाँबाट कसले र कहिले उनीहरुलाई बाहिर निकाल्ने होला ? त्यसपछि यिनीहरु कुन देशको नागरिक कहलेलान् ?









