दमक, २ बैशाख । वि.सं.२०८१ नेपाली गीत संगीतले राम्रो चर्चा पाएको वर्ष रह्यो । अर्थात सो वर्षमा युट्युबको चर्चाका हिसाबले पनि गीत निकै सक्रिय देखिए । आम्दानीका हिसाबले पनि फलिफापको वर्ष सावित भयो । चर्चित ५ गीत छुट्याउँदा सबैभन्दा बढी चर्चामा मत ढलें ढलें रह्यो । दोस्रोमा बार्दली, तेस्रोमा दुश्मन हेरेको हेर्यै, चौथोमा मायालाई पानको पात र पाँचौंमा स्पर्श संगीत रहन पुगे ।
म त ढलेँ ढलेँ (७ करोड ९० लाख बढी भ्युज)
नेत्र अर्यालको शव्द, खेम सेञ्चुरीको संगीतमा गायिका शान्तारानी परियारको स्वरको म त ढलेँ ढलें टिकटक, फेसबुक रिल्सदेखि धेरै सामाजिक सञ्जालमा यो वर्ष निकै चर्चामा रहन सफल भएको छ । अहिलेसम्म ७ करोड ९० लाख बढी भ्युज पाएको छ । यही गीतका कारण गायिका परियारलाई स्टेज कार्यक्रम भ्याइ नभ्याइ भएको छ ।
बार्दली (७ करोड ३१ लाख भ्युज)
सुशान्त केसी र इन्द्रकला राईको स्वरको ‘बार्दली’ गीत युवापुस्तामा निकै लोकप्रिय छ । केसीको शब्द, संगीतसमेत रहेको सो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत रहन सफल भयो । गीतको भिडियोमा सुशान्तसँगै इन्द्रकला राई, निश्चल बस्नेत, स्वस्तिमा खड्का र सृष्टि श्रेष्ठ लगायतको अभिनय छ ।
दुश्मन हेरेको हेर्यै (६ करोड १७ लाख बढी भ्युज)
दुर्गेश थापाको आफ्नै शव्द र संगीत रहेको गीत ‘दुश्मन हेरेको हेर्यै’ पछिल्लो समय निकै चर्चित छ । युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको गीतको गायनमा पछिल्लो समय दुर्गेशलाई दुई चर्चित गायिकाहरू एलिना चौहान र समीक्षा अधिकारीले साथ दिनु भएको छ । गीतको भिडियोमा दुर्गेशसँगै प्रियंका कार्की, कविता नेपाली लगायतको अभिनय रहेको छ ।
मायालाई पानको पात (३ करोड ६७ लाख बढी भ्युज)
खेम सेन्चुरी र दीपिका वयामु मगरको स्वर रहेको मायालाई पानको पात हालसम्म युट्युबमा ३ करोड ६७ लाख बढी भ्युज पाएको छ । खेमकै संगीत रहेको सो गीत टिकटकदेखि अन्य सामाजिक सञ्जालमा पनि प्राथमिकतामा परेको छ । गीतको भिडियोमा पल शाह र मोडल अञ्जना पुनः मगरको अभिनय छ ।
स्पर्श संगीत (३ करोड ३५ लाख बढी भ्युज)
पूर्ण राईको शब्द, संगीत र स्वर रहेको पप शैलीको ‘स्पर्श संगीत’ बोलको गीत यस वर्ष धेरै रुचाइएको गीतमा पर्छ । गीतमा सुसन कार्की गितार, देगोश राई बेस, सुमेक योन्जन ड्रम र रुवेन गुरुङले भायोलिनमा साथ दिनु भएको छ ।









