दमक, ९ बैशाख / झापाको दमकमा रहेर नाट्य गतिविधिमा सक्रिय कदम थिएटरले विद्यालय विदा भएको मौकामा विद्यार्थीका लागि विद्यार्थीबाट नाटक उत्पादन गराउने कार्यशाला सञ्चालन गरेको छ ।
सो नाट्य कार्यशालाको नाम ‘भाँडाकुटी’ राखिएको छ । जसमा ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकाले भाँडाकुटी खेल्ने उमेरकाबीच त्यस्तै खेल खेलकै क्रममा सन्देशमूलक नाटकहरु सिर्जना गरेको थिएटरका कला निर्देशक सिजन दाहालले जनाउनु भयो ।
१५ दिने तालिमको समापनसँगै आज साँझ ६ बजे बालबालिकाहरुले तयार पारेको नाटक ‘चामत्कारिक पिपल’ प्रदर्शन हुने भएको छ । नाटक रोशन र बुङछेङको निर्देशनमा तयार भएको छ ।
कार्यशाला समापनका अवसरमा नेपालका प्रख्यात नाट्यकर्मी सुनील पोखरेलको आतिथ्यता रहेको छ ।









