मेचीनगर, ११ वैशाख । मेचीनगर—३ स्थित बहुवन सामुदायिक वनभित्र करिव डेढ महिनादेखि एउटा घाइते हात्तीको नियमित उपचार चलिरहेको छ । भारतबाट घाइते अवस्थामा नेपाल छिरेको वयस्क यो हात्ती केही दिनदेखि यो जङ्गलको वल्लो छेउ र पल्लो छेउ चहारिरहन्छ । तैपनि सामुदायिक वनका पदाधिकारीहरुले यो बसेको ठाउँ पत्ता लगाएर वनका कर्मचारी र संरक्षणकर्मीलाई जानकारी दिन्छन् । अनि पशु चिकित्सकसहित पुगेका वनका कर्मचारीहरु यसलाई औषधि खुवाउँछन् ।
‘यो हात्तीलाई मैले मार्च १२ तारिखको राति घाइते अवस्थामा देखेको हुँ ।’ हात्ती संरक्षणकर्मी शंकर लुइँटेल भन्नुहुन्छ—‘सुरुमा मैले देख्दा हात्तीको अवस्था निकै दयनीय थियो ।’
लुइँटेल आफैंले ‘ घुमन्ते गज’ नाम दिएको हात्ती हो यो । ५/७ वर्षदेखि नेपाल–भारत ओहोरदोहोर गरिरहने यसको आनीबानी पनि लुइँटेल लगायत बाहुनडाँगीमा रहेको द्रूत उद्धार टोलीका अधिकांश युवालाई राम्रै थाहा छ । त्यही भएर पनि अनकन्टार जङ्गलभित्र रहेको अजङ्गको हात्तीसामू पनि यो टोली सजिलै पुग्छ । उहाँहरुलाई साथमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषका साथै वन कार्यालयका पशु चिकित्सक र अधिकारीहरु हात्तीको उपचारमा खटिन सकेका हुन् ।
‘ त्यसै त धर्तीकै ठूलो जनावर, त्यसमाथि तालिमप्राप्त जनशक्ति विना यसरी उपचारमा खटिनु ठूलै चुनौती छ नि । ’ पशु चिकित्सकहरुसँगै हात्ती उपचारका लागि पुग्नुभएका डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठ भन्नुहुन्छ— ‘ वनको सुरक्षासँगै जङ्गली हात्ती, अजिङ्गर र विषालू सर्पहरुको समेत उद्धारमा वन कर्मचारीहरु जोडिनुपरेको छ ।’ जङ्गली हात्तीको बाक्लो ओहोरदोहोर भइरहने झापामा निकुञ्ज र आरक्षहरुमा जस्तै तालिमप्राप्त जनशक्तिको खाँचो औल्याउनुहुन्छ ।

कुरा जङ्गली हात्तीकै । अहिले घाइते अवस्थामा भेटिएको हात्तीले जसरी उपचार पाइरहेको छ, यसअघिका घाइते र विरामी हात्तीले शायदै यसरी उपचार पाएका थिए । जङ्गलभित्र आपसमा जुधेर या मानवीय आक्रमण परेर घाइते भएकामध्ये कति हात्ती उपचार नपाई नि मरे होलान् । शंकर लुइँटेलजस्ता संरक्षणकर्मीले चासो नदिएको भए ‘घुमन्ते गज’ को पनि त्यही हालत हुनसक्थ्यो । तर, समयमै चारैतिर खबर पुगेकाले सरकारी टोली जङ्गली हात्तीको उपचारका लागि तयार भएको हो ।
यो उपचार पनि निकै जोखिमयुक्त रह्यो । सुरुमा मेचीनगरकै कालिका सामुदायिक वनको पाँचपोखरी क्षेत्रलाई सेल्टर बनाएको हात्तीलाई दिनैपिच्छे वनका हेरालूले निगरानी गरिरहे । अर्को हात्तीसँग जुध्दा पुच्छर चुँडिएको र पछाडिको दाहिने तिघ्रामा गहिरो घाउ भएकाले हात्ती धेरै दिन चट्पटाउन सकिरहेको थिएन । तैपनि यसको नजिक पर्नु डरमर्दो नै थियो । बाँहुनडाँगीमा बस्ने लुँटेल र आरआरटीका युवाहरु नआएसम्म हात्ती नजिक कोही पनि पुग्दैनथे ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका विशेषज्ञ, वन कार्यालयका पशु चिकित्सक सोनाम भाल, धाइजनस्थित मेची सवडिभिजन कार्यालयका वन अधिकृत डिल्लीराज खरेल लगायतको टीमले सुरुमा डार्टिङ गरेर घाइते हात्तीको उपचार ग¥यो । ‘तीन÷चार दिन यसरी उपचार गर्दा हात्तीलाई निकै ठीक भइसकेको थियो । पछि फेरि खुट्टाको घाउ बल्झियो ।’ पशु चिकित्सक भाल भन्नुहुन्छ—‘ हात्तीका लागि डार्टिङ विधि निकै जोखिम हुन्छ । त्यही भएर अहिले हामी सख्खर, धान र घाँसमा मिसाएर एन्टिवायोटिक्स दिइरहेका छौं ।’ यो औषधि पनि चार दिन लगातार दिइएको भाल बताउनुहुन्छ ।
झापाको मेचीनगर, भद्रपुर, वुद्धशान्ति, अर्जुनधारा, कचनकवल, हल्दीबारी लगायत क्षेत्रका वनमा थुप्रै हात्ती घाइते अवस्थामा भौतारिरहेको हुन सक्ने संरक्षणकर्मी लुँइटेलको आशंका छ । २५ वर्षदेखि जङ्गली हात्तीको अनुसन्धानमा संलग्न लुइँटेलले धेरैचोटी घाइते हात्ती देखिसकेको अनुभव सुनाउनुहुन्छ । तीमध्ये कतिपय यहीँका रैथाने हात्ती हुन् भने केही भारतबाट आहाराको खोजीमा नेपाल पसेका हात्ती ।
कसरी घाइते हुन्छन् हात्ती ?
प्रकृतिकै ठूलो जीव हात्तीमध्ये धेरैजसो शान्त स्वभावका हुन्छन् । तर, मान्छेले विच्क्याएका र यौनउन्मत्त हात्तीहरु आक्रामक हुने गरेको अनुसन्धाताहरु बताउँछन् । रिसाएका या तर्सिएका हात्तीहरु एकआपसमा झगडा गर्दा पनि घाइते हुन्छन् । बढीजसो भने मानवीय आक्रमणमा परेर घाइते हुने संरक्षणकर्मीको वुझाई छ ।
त्यसो त, समूहमा हिँड्ने हात्तीलाई एउटा मादाले नेतृत्व गरेको हुन्छ । हात्तीको समूहमा आफ्नै अनुशासन हुन्छ । यसरी समूहबाट अलग्गिएर एक्लै हिँड्ने हात्ती अरुको आक्रमणमा पर्ने गरेको लुइँटेलको अनुभव छ ।
हात्ती घाइते हुने र मर्ने/ मारिने शृंखला झापामा धेरै पहिलेदेखि चलिआएको छ । दुई दशकयता यहाँ २१ वटा जंगली हात्ती मारिएका छन् । अधिकांश हात्ती विद्युतीय धरापमा पारेर मारिएको अधिकारीहरु बताउँछन् । केही हात्तीलाई भने शिकारीले मारेको हुनसक्ने वन अधिकारीहरुको आशंका छ ।
जेहोस्, यो पटक झापामा एउटा हात्तीको ज्यान जोगिएको छ । भलै यो हात्ती अझै पूर्ण रुपमा ठीक भइसकेको छैन । तैपनि संरक्षणकर्मीको निगरानी, वन कार्यालयका प्राविधिक र कर्मचारीहरुको अथक प्रयासले ‘ घुमन्ते गज’ को भने अकाल मरण हुन पाएन ।









