दमक, ११ बैशाख / भुटानदेखि लखेटिएर भारत आइपुगेको र त्यहाँबाट समेत लखेटिएर नेपालमा शरणार्थी बनेको अवस्था । त्यसपछि पुनः नेपालको शिविर हुँदै अमेरिका लगायतका ८ मुलुकमा बसोबास गराइएको अर्को पाटो । भुटानप्रतिको प्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथाका रुपमा तयार चलचित्र ‘भूठान’ भोलिबाट देशभर प्रदर्शनमा आउने भएको छ ।
त्यो कथा व्यथा भुटानीहरु शरणार्थी भएर बसेको थलो दमकको डिम्याक्स हलमा समेत प्रदर्शन हुने छ । चलचित्रकर्ममा पनि जोडिएका कदम थिएटर दमकका रंगकर्मी सिजन दाहालले सो चलचित्र हेर्न आफूहरु आतुर रहेको जनाउँदै स्थानीयलाई आव्हान समेत गर्नुभएको छ । उहाँ भन्नुहुन्छ ‘भुटानका लाखौं धड्कनहरू धड्किएको जिल्ला हो झापा र मोरङ । ती जिल्लाबाट टाढा गइसकेपछि अहिले ती धड्कनहरू के भन्छन् ? त्यही धड्कनको आवाज ‘भुठान’ सिनेमामार्फत सुनौँ ल ?’
‘बुलबुल’ निर्देशक विनोद पौडेलको निर्देशनमा बनेको ‘भूठान’मा दुई धर्म अंगाल्ने व्यक्तिको मृत्युपछाडि हुने संस्कारलाई लिएर हुने अन्यौलता ट्रेलरमा देखाइएको छ । विषय गहन उठान गरेपनि ‘भुटान’को कुरा उल्लेख गरेर त्यही नाममा बनेको चलचित्रको नाम किन अपभ्रम्स बनाएर ‘भूठान’ नाम बनाएको भन्ने पनि टिप्पणी भइरहेको छ । अङ्ग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको सो चलचित्रमा हरिवंश आचार्यको मुख्य भूमिका रहेको छ । हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीको अभिनय छ । हलिउडका विश्वविख्यात अभिनेता ब्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गर्नुभएको छ ।
चलचित्रको प्रिमियर केही दिन अघि काठमाडौंमा भयो । चलचित्र हेरिसकेपछि अभिनेत्री मनिषा कोइरालाले चलचित्र असाध्यै मन परेको बताउँदै भन्नुभयो, ‘सिनेमा भनेको कथा भन्नु हो । मिठो ढङ्गले कथा भनिएको छ, प्राविधिक हिसाबले पनि उत्कृष्ठ छ ।’
‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा रहनु भएको छ ।









