दमक, १७ जेठ / भुटानको सर्भाङ जिल्लाको छोटाचिराङबाट लखेटिएर ९ वर्षको उमेरदेखि बाबुआमासँग नेपालमा शरणार्थी जीवन विताउन थाल्नु भएका दिल भुटानी भुटान फर्किने व्यग्र प्रतिक्षामा हुनुहुन्छ । आफूलाई डोर्याएर ज्यान बचाउन नेपाल ल्याइपुर्याउनु भएका बाबुआमा डम्बरसिंह र लीलावती महत, जीवनसंगिनी तिलारुपा अधिकारी, छोरी अश्लेसा सहितका परिवारका सवै सदस्य तेस्रो मुलुक पुनर्वासमा गएपनि दिल भनें झापाको बेलडाँगी शिविरमा शरणार्थीकै रुपमा रहिरहनु भएको छ ।
देशविहीनताको पीडामाझ मोरङको पथरी शनिश्चरे शिविरमा रहँदा शिविर र आसपासमा हुने साहित्यिक गतिविधिले लेख्ने प्रेरणा भरियो । स्वदेशफिर्तीको विकल्पको बाटो खुल्न नसक्दा अधिकांश शरणार्थी तेस्रो मुलुक पुनर्वास भए । तर कुनै न कुनै समय राजनीतिक परिवर्तन भएर स्वदेश फर्किने आशामा रहनु भएका दिल ‘देशसँग साहित्य’ भन्ने अभियानसहित सृजनकर्ममा सक्रिय हुनुहुन्छ ।
द लिटरेरी सोसाइटी अफ् भूटानको संस्थापक सदस्य तथा हाल उपाध्यक्ष रहनु भएका उहाँ साहित्य परिषद् –भूटानको नेपाल निर्देशकका रुपमा नयाँ पुस्तालाई भुटानको माटोसँग भाषा र साहित्यलाई जोड्दै आउने अभियन्ताका रुपमा स्थापित हुनुहुन्छ । स्नातक तहसम्म अध्ययन गर्नुभएका उहाँले मुलतः सन् १९९० देखि भुटानबाट विस्थापित हुनु परेको पीडालाई समेटेर २०७८ सालमा ‘नब्बेका घाउहरु’ कविता संग्रह प्रकाशित गर्नुभएको छ । प्रगतिशील साहित्यका पक्षपाती उहाँ स्वदेशफिर्ती अभियन्ताका रुपमा अडिग रहनु भएको छ । उहाँसँग साहित्य र जीवनसंघर्षका सन्दर्भमा उज्यालोखबरको ‘अनुशीलन’ मा गरिएको भिडिओ कुराकानी प्रस्तुत छ :









