दमक, ३, असार । प्रकृति पूजक धिमालहरुले २ महिनासम्म जातिरी अर्थात सिरिजात पर्व मनाउने गर्दछन् । आफुले लगाएको फसलमा रोग किरा नलागी राम्रो उत्पादन दिन सकोस, परिवारमा कोही दुख विराम भए ती रोग र दुख टरेर जाउन भन्दै बैशाख २ गते देखि जातिरी पर्व मनाइन्छ ।
बिभिन्न मनोकाक्षा राख्दै पर्वलाई हर्षोल्लास मनाइन्छ । र यसको समापन असार २ गते चाहि सबै धिमाल जातिहरु एकै ठाउँमा भेला हुने, सामुहिक पूजा अर्चन गर्ने, साङ्गीतिक कार्यक्रम गर्दै नाचगानमा रमाउने र मेला लगाएर किनमेल समेत गर्ने गर्दछन ।
यसमा धिमाल मात्रै नभएर अन्य समुदायको पनि उल्लेख्य उपस्थिती हुन्छ । तर धिमालको मेलामा धिमाल जातिको परिकार र पहिरनका स्टल र व्यापार भने खास भेटिएन ।
मोरङको उर्लाबारी नगरपालिका अन्तर्गत मंगलबारेमा रहेको १० बिघेस्थल । यहाँ झापा, मोरङ र सुनसरी सम्मका धिमालहरुको सामुहिक सहभागिता रहेको थियो । किनकी यहाँ यो समुदायको जातिरी तथा सिरिजात पर्वको अवसरमा भव्य कार्यक्रम थियो ।
कार्यक्रम हुने मञ्चतर्फ धिमालका सास्कृतिक झलकहरु देखाइएको थियो । बडो मनोरञ्जनका साथ कार्यक्रम चलिरहेको थियो ।
अनि यही ठाउँमा धिमाल जातिको सस्कार, सस्कृति, पेसा र सीपको प्रवर्धन र त्यसलाई संरक्षण गर्न माग गरिरहिको पनि थियो । चर्को आवाजमा यसखाले माग धिमाल जातिले सँधै राख्छन ।
यो माग सुनाउन कहिले कोशी प्रदेशका मुख्यमन्त्री ल्याउछन् कहिले संघीय सरकारका मन्त्री । अनी झापा, मोरङ र सुनसरीका बिभिन्न पालिकाका जप्रतिनिधि , प्रदेश र संघीय सांसद सबैलाई बोलाउँछन् ।
आफ्ना माग , समस्या र आवश्यकता दर्शाइरहन्छन् । तर त्यसको सम्बोधन कति भइरहेको छ र त्यसले के परिवर्तन ल्याएको छ भन्ने हेर्न चाहि यही जातिरी मेला घुमे पुग्छ । राज्यका बिभिन्न तहले धिमाल जातिको सीपलाई सम्वर्धन गर्न, परिकारलाई परिस्कृत गर्न भन्दै बजेट दिएर तालिम गर्नु भन्छ । व्यवसायिक बन्नुस हामी साथमा छौ भन्ने कुरा आउँछन ।
वर्षेनी धिमाल जातिका नाममा थुप्रै बजेट पनि बिनियोजन हुने गर्छ । खर्च पनि भएकै छ । तर त्यो खर्चले के उपलब्धि दियो ? प्रश्न गम्भीर बनेको छ । किनकी असार २ गते लगाइने धिमाल जातिको पहिचान र उल्लाससग जोडिएको यो जातिरी मेलामा समेत सरकारी बजेटबाट सिकेको तालिममको उपलभ्धि प्रर्दशन समेत गरिएन ।
न धिमालका महिलाहरुले लगाउने पेटानीको स्टल यहाँ देखियो न कुनै चिचिरी र अन्य कुनै जातीय परिकारको । देखियो त केवल मम , चाउमीन, समोसा, जेरी आइसकृमका ठेलाहरु ।
अनि मौतका कुवा, रोटेपिङ र अन्य खेल तमासा राखेर यसलाई व्यवसायिक मेला भनेर संज्ञा पनि दिइयो । धिमाल जातिको सबै भन्दा ठूलो मेलामा धिमालकै ब्यापार किन नभएको भनेर हामीले धिमाल जातीय विकास केन्द्रका सह अध्यक्ष केदार धिमाललाई प्रश्न गर्दा उहाँ भन्नू हुन्छ ” नया पुस्तामा जातिय परिकार र पोसाकको प्रवर्द्धनमा चासो नै बढेन ।
राज्यले धिमाल जातिलाई जसरी प्रवर्द्धन गर्ने भनेर लागेको छ त्यसरी यही समुदाय चाहि अझै लाग्न सकिरहेका छैनन ।
धिमाल जातिको सम्मानमा झापाको दमक नगरपालिका, मोरङको उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाले त प्रथम नागरिकको दर्जानै दिएर सम्मान गरेका छन्
हरेक वर्ष प्रथम जातिका लागि भनेर लाखौं बजेट पनि दिने गर्दछन । तर ती सबै बजेट धिमाल जातिको धाम बनाउन र घेराबारा गर्न भन्दै सक्ने गरिएको छ ।
यसले समुदायलाई सीप र रोजगारमा जोड्न अझै सकिरहेको छैन । अनि फेरि धिमाल जातिको महत्वपूर्ण पर्वमा राज्यले सार्वजनिक बिदा समेत दिन आनाकानी गरिरहेको भनेर मन दुखाइएको छ ।
जातिरी पर्वको अवसरमा दमक नगरपालिका, उर्लाबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले स्थानीय बिदा दिएका छन् ।
उनीहरुले यो पर्व सम्पन्न गर्न भन्दै बजेट समेत दिएका छन् । तर राज्य स्तरबाट हुने यस्ता लगानीले समुदायको स्तर उन्नतिमा लगाउन नसकोको भन्दै धिमाल समुदायको नेता र नेतृत्वमा बारम्बार दोहोरिरहने प्रश्न छ । केही नेता र नेतृत्वले यसलाई आफ्नो कमाई खाने पेसा नै बनाएको भन्दै बेला बेला सामाजिक सञ्जालमा समेत छरपस्ष्ट हुने गरेको छ ।









