मिरिक, ११ असार / भारतको मिरिकमा टीनको छप्पर, काठको भित्ता अनि अघिल्तिर सिमेण्टले लिपेर बनाइएको सानो आँगन । यस्तै छ अहिले पनि नेपालीभाषी प्रख्यात उपन्यासकार प्रकाश ’कोविद’को घर । यसभित्र केही कोठाहरूमध्ये एउटा छ १० अनि १२ फूट आयतनको कोठा । यस कोठामा ’कोविद’ले बनाएका काष्ठ शिल्पहरू सजाएर राखिएका छन् । यसै कोठामा राखिएको शो–केसमा ’कोविद’का उपन्यासहरूको थाक छ । तर उपन्यासहरूको यस थाकमा ’नोयो’, ’अर्को जन्म’ उपन्यास नै छैन । जुन प्रकाश ’कोविद’का अति नै प्रिय उपन्यासहरू हुन् ।
यसै कोठामा एक्लै बसेर प्रकाश ’कोविद’ले उपन्यास लेख्नुहुन्थ्यो । जब उहाँले उपन्यास लेख्न थाल्नुहुन्थ्यो उहाँको कोठामा कसैलाई प्रवेश गर्ने अनुमति हुँदैन थियो । एक्लो, शान्त वातावरणमा सिग्रेटको धुवाँ उड़ाउँदै उपन्यास लेख्न बसेपछि एक महिनाको अवधिमा एउटा उपन्यास लेखिसक्नुहुन्थ्यो । प्रकाश ’कोविद’का साइँला छोरा रामले यस्तै जानकारी दिनुभयो । राम राई भन्नुहुन्छ, ‘पापाले काठबाट विभिन्न प्रकारका सजाउने सामग्रीहरू पनि बनाउनु हुन्थ्यो अनि बाँसमा मादल बजाइरहेका मानिसहरूको चित्रहरू पनि बनाउनु हुन्थ्यो । ती चित्रहरू अझैसम्म भोटे बस्ती गाउँका धेरै घरहरूमा सजाएर राखिएका छन् ।’
यहाँ मात्रै होइन उहाँले निर्माण गर्नुभएका काष्ठशिल्प तथा अन्य चित्रहरू पहाड़का विभिन्न ठाउँहरूमा पनि देखिएका हुन् । जोरथाङमा आयोजना हुने माघे मेला, जिम खाना तथा अन्य स्थानहरूमा हुने कार्यक्रमहरूमा यस्ता चित्र तथा काष्ठशिल्पहरू राम राई पनि आफ्ना पापासित बेच्न जानुहुन्थ्यो । पापाबाटै प्रेरणा पाएर आफूले पनि बाँसबाट विभिन्न सामग्रीहरू बनाउने गरेको रामले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रा पापाको खास नाम नरबहादुर राई हो । कोविद चाँहि हिन्दी साहित्यबाट प्राप्त भएको उपाधि । उहाँले ५५ वटा जति उपन्यास लेख्नुभयो, कैयन् कथा अनि कविताहरू पनि लेख्नु भएको छ । तरै पनि उहाँले साहित्य क्षेत्रमा दिएको योगदानको कुनै मूल्याङ्कन भएन ।’ रामले थप्नुभयो, ‘त्यति मात्र होइन सन् १९९२ मा पापा बिरामी हुँदा दार्जीलिङका तत्कालीन प्रख्यात साहित्यकारहरू हेर्नसम्म पनि आएनन् । गुमानसिंह चाम्लिङ, सिक्किमकी पूर्व सांसद दिलकुमारी भण्डारी मात्र पापालाई बिरामीको समय स्थानीय प्लाण्टर्स अस्पतालमा हेर्न आएका थिए । त्यो समय नै दिलकुमारी भण्डारीले पापाको अप्रकाशित कृति प्रकाश कोविदका प्रतिनिधि कथाहरू प्रकाशित गरिदिने वचन दिएर सन् १९९४ मा त्यो पुस्तक प्रकाशित पनि गरिदिनु भयो । तर अभाग्यवश त्यो किताब पापाले हेर्न पनि पाउनु भएन । पापाको देहान्त भइसकेको थियो ।’
यति भनिरहँदा रामको आँखामा हल्का आँशु छचल्किरहेको थियो । केही बेर भावुक बन्नुभयो । प्रकाश कोविदको ११ नोभेम्बर १९९२ मा देहान्त भएको थियो । रामले पापालाई पुन स्मरण गर्दै भन्नुभयो ‘पापाले सिग्रेट एकदमै बेसी पिउनुहुन्थ्यो । एक दिनमा ६ प्याकेटसम्म सिग्रेट सकिन्थ्यो । पछि फोक्सो अनि कलेजोको समस्याले नै पापाको निधन भयो । त्यो समय उहाँलाई बचाउने धेरै प्रयास गरियो, तर मृत्यु सबैभन्दा बलवान भएर आएको थियो ।’
उहाँ फेरि थप्नुहुन्छ ‘पापाले नारायण गोपालका गीतहरू साहै मन पराउनु हुन्थ्यो । त्यसैले टेप रेकर्डरमा नारायण गोपालको गीत बजाएर सुनिबस्नुहुन्थ्यो । घरिघरि आफै पनि ती गीतहरू गुनगुनाउने गर्नुहुन्थ्यो ।’ यसैबीच रामले आफ्ना पिताले लेखेका केही उपन्यासहरूलाई पुनः प्रकाशित गर्ने विचार गरिरहेको पनि सुनाउनु भयो । आफ्ना पितालाई जवान युवतीहरूले लगभग ५० वर्षको उमेरमा पनि प्रेम पत्रहरू पठाउने गरेका घटनाहरूको सम्झना गर्दै राम रोमाञ्चित बन्नुभयो ।
कोविदका चारजना छोरा अनि दुईजना छोरीको जन्म भइसकेको थियो । सबै ठूल्ठूला भइसकेका थिए । तरै पनि कोविदलाई केटीहरूले प्रेम पत्र लेख्थे । प्रेमपत्र लेखेर मरिहत्ते गर्नेहरुका लागि कोविदले उल्टै सम्मानसाथ सम्झाउने गर्नुभएको रामले स्मरण गर्नुभयो । एक समय एकैपल्टमा चारजना युवतीले पापालाई प्रेम पत्र पठाएका घटना पनि रामले साझा गर्नुभयो ।
साभार : मिरिकको सेरोफेरोबाट








