साथीको कलम

रहर र जिद्धीको उपलब्धि हो विमला

त्यहाँको संघर्ष भनिसाध्यै छैन । कतिले कति उल्याए, कतिले उडाए ।

मोरङको पथरी शनिश्चरे गृह क्षेत्रमा मेरो साहित्य र पत्रकारिताको सुरुवाती समयको अनन्य मित्र विमला तुम्खेवा । उहाँले विभिन्न राष्ट्रियस्तरका पुरस्कार र सम्मान पाइरहेको अवस्था हो । तर संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले ०८१ सालका लागि कोशी प्रदेशबाट ५० हजार राशिसहितको ‘प्रादेशिक प्रतिभा पुरस्कार २०८१’ ले पुरस्कृत गर्ने निर्णय गरेको खबरले ज्यादै खुसी लागेको छ । सरकारी तबरबाट समेत सृजना र सर्जकको महत्व बुझ्‌न थाल्नु महत्वपूर्ण पक्ष भएकाले यस पुरस्कारले बढी महत्व राख्छ र खुसी पनि बढी नै लागेको हो ।

 

मनले बाँच्ने समाज निर्माणमा सर्जकको सृजना समर्पित हुन्छ । होचो अर्घेलोलाई केलाउँदै समतामूलक समाजको परिकल्पनामा आफ्‌ना चेतना प्रवाहित गर्ने सर्जकको मर्म हो । राजनीतिक विभाजनले सर्जकहरुलाई समेत विभाजित गरेर आआफ्‌ना स्वार्थमा उपयोग गर्ने परिपाटीलाई पनि फेरि उनै सर्जकले नै चिर्नु आवश्यक छ ।

 

विमला जीले पुरस्कार पाउने जानकारी साहित्यकार भाई चन्द्रवीर तुम्वापोको फेसबुक पोष्टबाट थाहालाग्यो । त्यसपछि मैले सम्झिएँ विमला र हामी (सुमन राई, रोहित पराई, भरत भट्टराई) को त्यो बेलाको साहित्यिक यात्राका दिन । विमला कवितामै केन्द्रित बन्नुभएको थियो भनें हामी खत्र्याक खुत्रुक केही नाटक पनि प्रस्तुत गर्न थालेका थियौं । हामी सबैमा त्यो बेला पैसाको अभाव उस्तै उस्तै भएपनि विमला चाँही आफ्‌नी आमाले के के बेचेर कसो कसो गरी जोहो गरेको पैसा फुत्काएर हामीलाई समेत भाडा तिरेर कार्यक्रममा नगई, नलगि नछोड्ने । दमक, बिर्तामोड, धरान, विराटनगरका कार्यक्रममा नपुगी नछोड्ने । घरमा आएपछि कडा स्वभावका बुबाको हप्कि खानु पर्ने । पैसा मासेकोमा आमाको पनि गाली थपिने । फेरि त्यो बेला छोरीमान्छे कविता सविताको कार्यक्रम भनेर हिंडेर के हो के हो भन्ने लाग्ने समाज । पथरीस्थित यलम्बर चोकको बस्तीमा बरु घर घरमा रक्सि पारेर बेचेर बिहान बेलुकाको छाक टार्ने कामलाई अग्रजहरुले प्रमुख इलम मान्ने त्यो बेलाको परिपाटी । तर विमलालाई त्यो रक्सिको संगत हुनै सकेन । मनै परेन । बरु केही लेख्ने र समाजका लागि राम्रो कामको सन्देश दिने रुचि सानैबाट कसरी बढ्यो बढ्यो ? कमल हिलोमै फूल्छ भनेझैं केही लेख्नै रुचाउने । हामी पनि लेख्न रुचाउने । तर लेखेको कुरा कार्यक्रममा कहाँ गएर सुनाउने होला भन्ने अलमलमा परेका हामीलाई समेत उहाँकोे संगतले साहित्यिक गतिविधिमा जोड्ने काम गर्‍यो ।

 

घरमा के कसरी हुन्छ आमालाई फकाएर, घुर्क्याएर, रोएर भएपनि हामीलाई गाडी भाडा हालेर खाजा समेत खुवाउने हैसियत राख्ने । गाडी भाडासम्म भयो भनें बरु घरबाट भोक भोकै हिँड्ने र भोकै कार्यक्रम सकेर आउने र आनन्द मान्ने । कति कार्यक्रममा हामी भोकभोकै नै हिँडेको याद विमलाको यो पुरस्कारले झन ताजा बनाइदिएको छ । एक पटक धरानको विजयपुरमा कार्यक्रम भएको थियो त्यहाँ सायद सुमनजी पनि हुनुहुन्थ्यो । त्यहाँ हामी सबैजना पुरस्कृत बन्यौ. । त्यहाँ पुरस्कार स्वरुप मोटा मोटा डिक्स्टनरीका कितावमा अरु अरुखाले पनि निकै वटा किताव पुरस्कार दिइएको थियो । सबैजनाको पुरस्कारको भारी बोकेर हामी हिँड्दै तल ओर्लिन हम्मे हम्मे परेको क्षण पनि याद आयो ।

 

विमलाकै अगुवाईमा ०५३ सालको सुरुमा म, सुमन र भरत भएर पथरीमा ब्लाष्ट टाइम्सको शाखा कार्यालय खडा गर्‍यौं । त्यसअघि क्षितिज एकता मञ्चबाट ‘क्षितिज’ नामक साहित्यिक पत्रिकाको पनि हाम्रै टिमले सम्पादन गरेको थियो । विमलाकोे अगुवाईमा ब्लाष्टको काम भएपनि विमला त्यसमा निरन्तर रहनु भएन, १ वर्षमै अन्तै पुग्नुभयो ।

 

एक ठाउँमा स्थीर भएर काम गर्न नसक्ने तर नयाँ नयाँ अवसर, अवस्था र चुनौतीसँग खेलिरहनु पर्ने स्वभाव । अनि जहाँ साहित्यिक कार्यक्रम छ, त्यहाँ घुँडा टेकेर, टाउकै टेकेर जसरी नै पुग्नै पर्ने, बरु आफू मर्नु नै किन नपरोस् । घरमा बिहान बेलुका हातमुख जोड्ने समस्या रहिरहोस्, बाबुआमा बिरामी हुन् कि जस्तो अवस्था होस् कार्यक्रम नै सबैथोक मान्ने त्यो गिद्धीपन । निडर रुपले सबैसँग सम्पर्क स्थापित गर्न सिपालु । जस्तो जे छ आफ्‌नो शैलीमा अर्गानिक रुपमा प्रस्तुत हुने । अर्थात सामान्य जीवनशैली । यस्तो कविता विमलाले कसरी लेख्छिन् र हौ भनेर पनि कतिले भन्थे र हामीलाई नै पनि पहिले पहिले त्यस्तै लाग्थ्यो ।

 

पत्रकारिता भन्दा पनि उहाँको त साहित्य नै नशा नशामा बग्ने हो । साहित्यमा स्थापित बन्ने इराधा राखेर काठमाडौं हानिनु भो । त्यहाँको संघर्ष भनिसाध्यै छैन । कतिले कति उल्याए, कतिले उडाए ।  तर ती सबैको प्रवाह नगरी एकोहोरो लागिरहने काममा विमला डगनमगाएको देख्थें । जहाँ जहाँ जे जेमा अस्थिर लाग्ने भएपनि साहित्यमा निरन्तर लागिरहने र लेखिरहने कुराबाट भने अलिकति पनि पछि नहट्ने अजिरपनले विमलालाई नै राष्ट्रिय रुपको कविका रुपमा स्थापित गरिछोड्यो । विमलाका सहयात्री हामी अरु आआफ्‌नो ठाउँमा सृजना क्षेत्रमै काम गरिरहेपनि त्यो उचाईमा विमला मात्र अघि हो । जुन त्याग, जिद्धीपन र अव्यवहारिक जस्तो एकाग्रताले आफ्‌नो रुचिको क्षेत्रमा रमाइरहन पुगिरहेको छ । तर जे जस्तो परिस्थितिमा पनि गाँस काटेर गाडी भाडा दिने महान आमा अहिले विरामी भएर हिँड्न नै समस्या भएको खबरले निकै नरमाइलो बनाएको छ । आमाप्रति श्रद्धा, नमन् । हामीले उहाँको त्यो गुन तिर्न सकिएको छैन ।

 

यस्तै अद्भूत लाग्ने पात्र दमकका मेरा मित्र प्रकाश आङ्देम्बेलाई पनि यही मेसोमा सम्झिन्छु । विमलाकी जस्तै महान आमालाई प्रकाशले चाँही निकै वर्ष अघि गुमाइसक्नु भएको छ । योखाले एकोहोरोपन अनि एक ठाउँमा नअडिने र सृजनाको अभियानको प्रभावकारी अभियन्ताको सन्दर्भ आउँदा जहिल्यै सम्झिने पात्र हुन् यी । प्रकाश नर्वेमा बस्दै सृजनाको उडान भरेर अहिले अमेरिकाका धेरैवटा राज्यमा घुमिरहेका छन् । अरु धेरै देश घुमिसके । सृजना क्षेत्रसँग जोडिएर घुमेरै आफ्‌नो खुसी पुरा गर्ने वातावरण निरन्तर भइरहोस् प्रकाश । त्यो भन्दा ठूलो र धेरै खुसी अरु केही हुँदैन । है प्रकाश ? त्यो बेला प्रकाश पनि त्यही विजयपुर डाँडोमा बस्थे, के के लेख्थे, नाटक गर्थे । अनि नि, विजयपुरमा बोक्नै नसक्ने गरी प्राप्त गरेका पुरस्कारका ठेलीहरुले सधैं पुरस्कारका खातको उचाई थपिरहन प्रेरणा भरिरहुन् विमला । अनि सबैथोक छोडेर लेखिरहने रहर निरन्तर पुरा भइरहोस् । यी दुबै साथीको नजिकको साथीका नाताले मेरो शुभकामना ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण

विपद् व्यवस्थापन प्रभावकारी नभएको कांग्रेसको आरोप

काठमाडौं ,१५ भदौ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप

धनगढी उपमहानगरपालिकाद्वारा बाढी प्रभावितलाई ४१ लाख रुपैयाँ आर्थिक सहयोग

धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा