दमक, २० असार / आचार्य प्रभा र केशव आचार्य । साहित्यकार जोडी । जो ०३५ सालदेखि झापासहित आसपासका जिल्लाहरुमा साहित्यिक गतिविधिमा आफूहरुलाई सामेल गराउँदै साहित्यिक माहोल सृजना गर्नमा तल्लिन रहँदै आयो ।
त्यो बेला दमकमा प्रतिभा निकेतन जन्मिदै थियो र साहित्य कला संगमको जन्म भइसकेको थिएन । ०४७ सालताका अझ फराकिलो हिसाबले सबैलाई समेटेर साहित्यिक गतिविधि गर्ने हेतुले आचार्य दम्पत्तीले दमकको पुरानो बजारस्थित आफ्नो काठे घरको कोठामा ‘कोठे साहित्यिक यात्रा’ नाम दिएर अभियानगत पाइला अघि बढाउनु भयो । जो ०५२ सालपछि नियमित भएन । त्यसपछि समय र परिस्थितिले त्यसलाई ओझेल पार्यो । आचार्य दम्पत्ती पनि बढीजसो अमेरिका बस्न थाल्नुभयो ।
एउटा दर्बिलो इतिहासका रुपमा रहेको सोही संस्थागत अभियानलाई स्मरण गराउँदै आचार्य दम्पत्तीले ३० औं वर्षपछि उसैगरी साहित्यिक जमघट गराउनु भयो । शुक्रबार शुक्रबार कार्यक्रम गर्ने त्यसबेलाको काठे घरको त्यही कोठा त यो बेला थिएन । त्यो ठाउँ नजिकै पश्चिममा बनेको पक्काघरको फराकिलो छत सर्जकहरुको जमघटस्थल बन्यो । जहाँ ‘कोठे साहित्यिक यात्रा’ का सहयात्रीहरु, त्यहाँ आएर साहित्य सिक्नेहरुदेखि लिएर त्यसबेलाका अग्रज सर्जक, विद्यालय र विश्वविद्यालयका गुरुहरु अनि नयाँ पुस्ताका सर्जकहरुको जमघट निकै रोमाञ्चक बन्यो । जसको स्मरण प्रमुख अभियन्ता आचार्य प्रभाले यसरी गर्नुभयो ‘त्यो बेला हाम्रो घरको कोठामा भेला भएर गरिने कार्यक्रमबाट साहित्यमा प्रवेश गर्दै गर्नुभएका र हाम्रा मार्गदर्शकहरु ३० औं वर्षपछि पुनः एकठाउँ हुन पाइयो । अनि त्यो अभियानसँग नजोडिनु भएका सर्जकहरु समेतको यो जमघट निकै रमाइलो बनेको छ ।’
असार १६ गतेको यो दिन आचार्य प्रभाको जन्मदिन । जहाँ जन्मदिन भनेर औपचारिक जानकारी नगराई आफ्नो जन्मदिनलाई सृजनात्मक बनाउने योजनामा साहित्यिक कार्यक्रम राख्ने तारतम्य मिलाउने काम भयो । जसको संयोजनकारी भूमिका निर्वाह गर्नुभयो श्रीमान केशव आचार्यले ।
आचार्य दम्पत्तीले जन्मदिनमा आफ्नो परम्परा बाहिर रहेर केक नकाट्ने गरेको अवस्थामा कार्यक्रमको माहोल देखेर उहाँका आफन्तहरुले थाहै नदिइ केक ल्याएर त्यो परिस्थितिसंग जोडिछाडे । धेरैजसोले उपहार स्वरुप आफ्ना सृजना प्रस्तुत गरेभनें, केहीले पुस्तक तथा आकर्षक कलात्मक उपहार दिए । यो माहोलमा साङ्गसेन पन्धाकले दम्पत्तीको आरिसलाग्दो प्रेमलाई थप उर्जाशील र अजर बनाउन शब्द उपहार चढाउनु भयो । शिव रेग्मी प्रणतको कामना पनि उस्तै थियो ।
रचना वाचन कार्यक्रम जम्यो । रचना वाचनको सुरुवात गर्नुभएका नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य विराट किरातीले आचार्य प्रभासँग तुलना गर्दै कविता ‘स्त्री र आगो’ प्रस्तुत गर्नुभयो ।
यो बुझ्नु स्त्री आगो हो
राप ताप दुबैको समान हुन्छ
अझ यसो भनौं आगो सौन्दर्य हो
आगो विद्रोह हो
आगो सभ्यता हो
हो त्यसैले,
यो सृष्टिको सुन्दर सृजना आगो मन पराउँछु ।
यही बीचबाट साहित्यकार मेघनाथ बन्धुले कवितामार्फत फराकिलो शुभकामना व्यक्त गर्नुभयो ।
झापाको विर्तामोडसम्म, इलाम र मोरङसम्मका साहित्यकारहरुको जमघट थियो । सर्जक सुमन राईले कविताको चिरहरण सुनाउँदा साहित्य कला संगम दमकका अध्यक्ष विष्णु न्यौपानेले श्रम गर्नेहरुको पीडा छन्द कवितामा ओकलिरहनु भएको थियो ।
कुनै समय हेपिएको विधा गजललाई अघि बढाउने अभियानमा आचार्य दम्पत्तीको उस्तै महत्वपूर्ण भूमिका रह्यो । यसअर्थमा पनि उपस्थित गजलकारहरुले गजल नसुनाइरहने कुरै भएन । अर्कातर्फ साहित्यको त्यो उर्जाशील उमेर र समयका दौंतरी केशव आचार्य नै नामका बिर्तामोडका सर्जक अर्थात ‘दाह्री केशव’का सृंगारिक गजलले माहोल अझ ततायो ।
चन्द्र सम्बाहाम्फेले तरुन्नुम शैलीमा गाएको गजलले गजलको ओज र यसको प्रवद्र्धनको आवाज प्रभावकारी रुपमा बोलिरहेको थियो ।
रोयो सधैं सिरानी आगो बनेर दिलमा ।
जल्दैछ जिन्दगानी आगो बनेर दिलमा ।
कोठे साहित्यिक यात्राको झिल्कोले अहिले साहित्यको उज्यालोमा आउन सकेको प्रसंग सर्जकहरुले स्मरण गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य सुमित्रा बाङ्देल चेलीले आफूलाई घरबाट कार्यक्रममा निकाल्ने र सबभन्दा पहिले पुरस्कृत गर्ने कोठे साहित्यको स्मरण गर्नुभयो । आफ्नो यात्राको समेत स्वर्णीम स्मरणबीच इलाम चुलाचुलीका विवश बलिभद्र कोइरालाले स्वार्थ विनाको कार्यक्रमको आवश्यकता खड्किरहेको भन्दै कोठे साहित्यिक यात्रा व्यूँताउनु पर्ने कुरा जोड्नु भयो ।
साहित्यमा केन्द्रित कार्यक्रममाझ गीत संगीतको फरक स्वादले अझ अल्लादित बनायो । जसमा भूमिका थियो प्रशिक्षक अनिल फागोको संयोजनमा सुरभि कला केन्द्रकी आया राई, आशिष नेपालीसहितको ।
प्रभाका हालसम्म ४ वटा कृति प्रकाशनमा आएका छन् र १ सय वटा गीत रेकर्ड भएका छन् । केशव लेखिरहने तर पुस्तक प्रकाशनमा रहर नगरी सृजनाको प्रवद्र्धनमा लागिरहने स्वभाव । आपसमा फरकखाले स्वभाव भएपनि जीवन र सृजनाको एकमुष्ठ प्रभावकारी सहकार्यको उदाहरण प्रस्तुत भइरह्यो । अमेरिकामा रहँदा समेत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नेतृत्व तहमा रहेर दुबैले साहित्य प्रवद्र्धनमा विशेष योगदान पुर्याउँदै आउनु भएको पक्षको पनि स्मरण भयो ।
कार्यक्रममा दमकका ऐतिहासिक व्यक्तित्व शिक्षासेवी एवम् साहित्यसेवी मेघराज तिम्सिना, प्रतिभा निकेतनका पूर्व अध्यक्ष खेमलाल पोखरेल, वर्तमान अध्यक्ष कमलराज भट्टराईका साथै झाँक्रीखोलेसहितका अग्रजहरुको सामिप्यतामा आचार्य प्रभाले आफूलाई प्रमुख रुपमा चिनाउने सुनिता सुब्बाले गाउनु भएको ‘पाएँ मैले चिट्टी तिम्रो प्रेमको निशानी’ बोलको आफ्नो गीतले भनेंझै अगाध प्रेमको निशानी पाइरहेको अनुभूत गर्नुभयो ।







