काठमाडौं– प्रतिनिधि सभाको मंगलबार बस्ने बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सम्बन्धी सम्झौता टेबल हुन सक्ने भएको छ। संसदको भोलिको बैठकमा सो सम्झौता टेबल गर्न सकिने कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन्। यस विषयमा संसदमा बहस भए कम्तीमा बाहिरका अनावश्यक बहस सकिने उनको तर्क छ।
मंगलबार बानेश्वरमा जारी नेपाली कांग्रेस संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग बोल्दै उनले भोलिको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल हुनसक्ने बताएका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सो सम्झौता टेबल गर्न सहमत रहेको उनको भनाइ थियो। ‘उहाँहरुको सबैको सहमति खोजौं भन्ने चाहना छ,’ उनले भने।
नेकपा एमालेले भने सरकारको कदममा साथ नदिने संकेत गरेको छ। एमालेले आफूले कारबाही गरेका १४ सांसद र सभामुख हटाउनुपर्ने शर्त राखेको छ।