काठमाण्डौं ,२४साउन। हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी ) पर्व शनिबार देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्द छन् ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरको अशोकविनायकलगायत बाग्मती नदीको किनार र काठमाण्डौ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।












