सुनसरी, २६ साउन | सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा सोमबार बिहान भएको बस–विङ्गर दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।
काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार मृतकमध्ये दुई पुरुष र एक महिला रहेका छन्, जसको सनाखत भइरहेको छ।
घाइतेहरूलाई तत्काल उद्धार गरी इनरुवा, विराटनगर न्यूरो तथा नोबेल अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।
दुर्घटनापछि बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










