दमक, २८ साउन / प्रेस चौतारी झापाले आज दमकमा सामाजिक सुरक्षा कोष र राजस्व ९कर० सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा झापामा सक्रिय मिडिया हाउस, स्वरोजगारमुखी सञ्चारकर्मी, प्रतिनिधिमूलक सहकारीकर्मी, निजी विद्यालयका सञ्चालक तथा प्रशासकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सामाजिक सुरक्षा कोषमा किन आवद्ध हुने, आफ्ना कर्मचारीलाई कसरी सदस्य बनाउने र यसबाट सञ्चालक तथा कर्मचारीले पाउने फाइदाबारे सामाजिक सुरक्षा कोष कोशी प्रदेशका प्रमुख दीपकराज भट्टले सहजीकरण गरेका थिए। यस्तै, कर तिर्ने प्रक्रिया र समयमा कर नतिर्दा हुने असरबारे आन्तरिक राजस्व कार्यालय दमकका कर अधिकृत ज्ञानेन्द्र यादवले प्राविधिक परामर्श दिएका थिए।
कार्यक्रमको प्रमुख आतिथ्य प्रेस चौतारी नेपालका केन्द्रीय सचिव बिक्रम लुईटेलले गरेका थिए। प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारका अनुसार, मिडिया हाउसलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन तथा समयमा कर तिर्ने महत्त्वबारे स्पष्ट जानकारी दिन यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्दै दमक–८ निवासी सञ्चारकर्मी तथा सबल नेपाल मिडिया सञ्चालक केदार पौडेल प्रेस चौतारीमा प्रवेश गरेका थिए। पौडेल विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् र यसअघि रास्वपाको दमक–८ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।










