दमक| २८ साउन | “उहीँ प्रकृति, उहीँ हैसियतमा रहेका करिब १५० जना प्रतिवादीमध्ये अन्यलाई सफाइ दिने तर मलाई मात्र दोषी ठहर गर्ने?
यो राजनीतिक पूर्वाग्रहमा आधारित फैसला हो। यसले अदालतको साख, गरिमा र विश्वासमाथि कुठाराघात गरेको छ,” माओवादी केन्द्र कोशी प्रदेशका कोषाध्यक्ष गगन पुरीले विशेष अदालतको फैसलापछि कडा प्रतिक्रिया दिएका छन ।
पुरीले अदालतको निर्णयलाई न्यायिक इतिहासकै असमान र अन्यायपूर्ण फैसलाको संज्ञा दिँदै, यसलाई राजनीतिक प्रतिशोधको प्रत्यक्ष उदाहरण ठहर गरेका छन्। उनका अनुसार, मुद्दाको अन्तिम बहस असार १९ गते नै सकिएको भए पनि फैसला आउन अनावश्यक विलम्ब भयो, जसले न्यायिक निष्पक्षतामाथि प्रश्नचिन्ह खडा गर्यो।
सर्वोच्च अदालत जाने ।
विशेष अदालतले पुरीसहित ९ जनालाई झापाको बालुवाटार क्षेत्रमा सार्वजनिक जग्गा व्यक्तिगत नाममा दर्ता गरेको अभियोगमा दोषी ठहर गर्दै कैद सजाय र जरिवाना तोकेको छ। तर यो अन्यायपूर्ण फैसाला भएको भन्दै पुरीले आफू सर्वोच्च अदालत पुग्ने सामाजिक सन्जाल मार्फत प्रतिक्रिया दिएका छन ।
पुरीको कडा आपत्तिपछि यो मुद्दा अब सर्वोच्च अदालतमा पुग्ने निश्चित भएको छ, जसले कानुनी र राजनीतिक दुबै मोर्चामा नयाँ बहसलाई जन्म दिने देखिन्छ।










