दमक, ३१ साउन । तीन दिनअघि सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघेर फरार भएका कैदी बिर्तामोडमा पक्राउ परेका छन् ।
दमक, ३१ साउन । सुनसरी कारागारबाट पर्खाल नाघेर फरार भएका जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका जिल्ला खोटाङ, चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल (खत्री) शनिबार बिहान बिर्तामोड १० स्थित विराटपोखरबाट पक्राउ परेको प्रहरीले जनाएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा बिर्तामोड नगरपालिका वडा नं. १० बिराटपोखरमा लुकिछिपि बसिरहेको अवस्थामा उनलाई बिहान ६ बजे पक्राउ गर्न सफल भएको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताउनु भयो ।
पौडेल विराटपोखरस्थित आफन्तको घरमा लुकेर बसेको राति नै प्रहरीले सूचना पाएको थियो । राति पक्राउ गर्न खोज्दा उनी भागेका थिए । रातिदेखिको प्रयासमा उनलाई विहानीपख पक्राउ गर्न प्रहरी सफल भएको हो। । थप अनुसन्धानको लागि उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी (बलात्कार) मुद्दामा सजाय तोकिएका पौडेल झुम्का कारागारबाट फरार भएपछि छानबिन समिति गठन गरिएको थियो ।
कारागारका जेलर सुवासकुमार लामिछानेका अनुसार कारागारको पर्खाल नाघेर बुधबार बिहान २ बजेतिर खत्री फरार भएको चौकीदारले कारागार प्रशासनलाई जानकारी गराएका थिए। सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २१ साउन २०८१ मा कारागार चलान गर्न आदेश दिएको थियो।
पछिल्लोपटक २५ चैत २०८१ मा जिल्ला अदालत सुनसरीले १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। अदालतको फैसला अनुसार सजाय भुक्तान गरिरहेका उनी फरार भएपछि छानबिन समिति बनाइएको थियो । कारागारको बी ब्लकबाट १६ फिट अग्लो पर्खाल नाघेर उनी भागेको प्रहरीले जनाएको छ ।










