दमक,२६ असोज।
विषयप्रवेश
नेपालको सामाजिक संरचना निरन्तर रूपान्तरणको यात्रामा छ । आर्थिक, सांस्कृतिक र वैचारिक स्तरमा वर्गीय विभाजनले समाजमा विभिन्न तहका चेतना निर्माण गरेको छ । उत्पादनका साधन र स्रोतमा भएका पहुँचका आधारमा समाज उच्च, मध्यम र निम्न वर्गमा विभाजित भए तापनि ज्ञान र शिक्षासँग सम्बन्धित वर्गले समाजमा सदैव विशेष भूमिका निर्वाह गर्दै आएको छ। विश्वविद्यालयका प्राध्यापकहरूलाई नेपालको सामाजिक संरचनाभित्रका एक महत्त्वपूर्ण बौद्धिक वर्गीय समूह मानिन्छ । हुन त उनीहरूलाई राज्यको अङ्ग पनि मानिन्छ र समाजको चेतनाको वाहक पनि । तसर्थ उनीहरूको वर्गीय चेतना र बौद्धिक भूमिकाले देशको शैक्षिक, सांस्कृतिक र वैचारिक विकाससँग गहिरो सम्बन्ध राख्दछ। यो लेख तयार पार्ने लेखक पनि युवा प्राध्यापक भएकाले यहाँ आफ्नो वर्गीय चेतनाका आधारमा आफ्नै भूमिकाप्रति पनि आलोचनात्मक चिन्तन गरिएको छ ।
वर्गीय चेतनाको सैद्धान्तिक आधार
कार्ल माक्र्सका अनुसार उत्पादनका साधनमा रहेको स्वामित्वका आधारमा समाजमा वर्ग निर्धारण हुन्छ। जसका हातमा उत्पादनका साधन हुन्छन्, उनीहरूले शासन र विचार दुवैलाई नियन्त्रण गर्छन्। यस्ता सम्बन्धले वर्गीय चेतनाको निर्माण गर्छ । त्यसले कुनै वर्गलाई आफ्नो स्थिति, अधिकार र जिम्मेवारीप्रति जागरूक बनाउँछ। त्यसले उत्पादनका साधनमाथि आफ्नो नियन्त्रण भएपछि अन्य वर्गलाई आफ्नो अधीनस्थ बनाउन खोज्छ । तर ज्ञान र शिक्षामा कार्यरत विशेषतः प्राध्यापकहरू; उत्पादनका प्रत्यक्ष साधनका मालिक नभए तापनि बौद्धिक उत्पादनका निर्माता भने हुन्। उनीहरूको श्रम भौतिक प्रकृतिको नभई वैचारिक, दिमागी र चिन्तनात्मक हुन्छ । त्यसैले उनीहरूको वर्गीय चेतना आर्थिकभन्दा बढी बौद्धिक, वैचारिक र सामाजिक सांस्कृतिक चेतनाका रूपमा अभिव्यक्त हुन्छ।
ग्राम्सीले त्यस विचारलाई विस्तार गर्दै भनेका छन्, “हरेक समाजले आफ्नो अस्तित्व टिकाइराख्न बौद्धिक जमात् उत्पादन गर्छ।” उनका अनुसार बौद्धिक वर्गले केवल ज्ञान वितरण गर्दैन, शासन र समाज बिच सहमतिको संस्कार निर्माण गर्न रचनात्मक भूमिका पनि खेल्छ । प्राध्यापक पनि समाजमा सहमतिको व्यवस्थाका अभियन्ता हुन सक्छन् ।
प्राध्यापकहरूको वर्गीय स्थिति
नेपालमा विश्वविद्यालयका प्राध्यापकहरू राज्य संरचनाको स्थायी सेवाका सदस्य हुन्। उनीहरूको आम्दानी स्थिर र निश्चित हुन्छ । त्यो आर्थिक स्थायित्वले उनीहरूलाई मध्यम वर्गको माथिल्लो तहमा राख्छ। तर उनीहरूको सातत्यपूर्ण (consistency) स्वभावले शिक्षण, अनुसन्धान, विचार, दर्शन र तर्कमा गर्विलो उपस्थिति देखाइदिन सक्छ । यद्यपि सामाजिक र सांस्कृतिक दृष्टिले उनीहरू केवल कर्मचारीमात्र होइनन् बरु सार्वजनिक बौद्धिक सम्पत्ति (public intellectual property) हुन्। उनीहरूको प्रमुख पूँजी ज्ञान, विवेक र सामाजिक सम्मान हो। उनीहरू समाजमा मूल्य निर्माण, विचार प्रसार र चेतना विस्तारको कार्यमा सक्रिय हुन्छन्। यसकारण उनीहरूको वर्गीय पहिचान आर्थिक रूपले मध्यम वर्गीय र वैचारिक रूपले उच्च वर्गीय दुवै स्वरूपमा अभिव्यक्त हुन्छ । उनीहरू आर्थिक रूपले भन्दा पनि वैचारिक र चिन्तनका दृष्टिले आफूलाई प्रस्तुत गर्न खोज्छन्, त्यो नै उनीहरूको वर्गीय चरित्र हो ।
नेपालमा अनेकन विश्वविद्यालयका सोही अनुपातका प्राध्यापक छन् । ती हरेकले कहीँ न कहीँ वैचारिक, तार्किक, सामाजिक, बौद्धिक र सार्वजनिक चिन्तकका रूपमा आफूलाई प्रस्तुत गर्न खोज्छन् । त्यतिवेला धेरैको आर्थिक वर्ग छाँयामा परेको हुन्छ । किनकि उनीहरूको आर्थिक पक्षभन्दा बौद्धिक र वैचारिक पक्ष सशक्त बनेको हुन्छ ।
वर्गीय चेतना र व्यावसायिक द्वैधता
विश्वविद्यालयका प्राध्यापकहरूको वर्गीय चेतनामा एक प्रकारको द्वैधता देखिन्छ । एकातिर उनीहरू विचार प्रसारक पनि हुन खोज्छन् भने अर्कातिर राज्यको स्थायी संयन्त्रको प्रतिनिधि पनि बन्न खोज्छन् । उनीहरूको त्यस किसिमको द्वैधतालाई यसरी पनि भन्न सकिन्छ ।
. एकातिर प्राध्यापकहरू राज्यका नीतिगत संरचनाभित्र काम गर्न बाध्य छन् । त्यसले उनीहरूको स्वतन्त्रतालाई सीमित गरिदिन्छ ।
. अर्कातिर उनीहरू ज्ञान र विचारका उत्पादक हुन् । त्यसले समाजमा नयाँ चेतना निर्माण गर्न सक्छ।
यस द्वैध अवस्थाले उनीहरूमा सङ्घर्षात्मक चेतना सिर्जना गर्छ । त्यसले एकातिर उनीहरूलाई व्यवस्थाको समर्थन गर्न बाध्य बनाउँछ भने अर्कोतिर त्यस व्यवस्थाको आलोचना गर्न प्रेरित पनि गर्छ। यही अवस्थाले उनीहरूको बौद्धिकता र वर्गीय बोधलाई अझ जटिल तर अर्थपूर्ण बनाउँछ। सायद सोही हुटहुटीले गर्दा हुनसक्छ प्राध्यापक अरुण गुप्तोले “संस्कृति सधैं धरापमा हुन्छ“ भनेका छन् । यदि संस्कृति धरापमा नहुने हो भने प्राध्यापकहरू द्वैध हुँदैनथिए, उनीहरू विचारले अडिग र तर्कले प्रस्ट हुँदाहुँदै सन्तुलित र आलोचक बन्दैनथिए । उनीहरू व्यवस्थाप्रति आलोचक र संरक्षक दुवै बन्नुपर्ने अभिभारामा उभिएका पनि हुन्छन् ।
बौद्धिक भूमिकाको सामाजिक महत्त्व
ग्राम्सी र फुकोले बताएअनुसार विश्वविद्यालयका प्राध्यापकहरू नेपाली समाजमा ज्ञानका उत्पादक, सत्य निर्माता र विचारका वाहक हुन्। समाजमा रहेको उनीहरूको भूमिकालाई यसरी प्रस्तुत गर्न सकिन्छ ः
. उनीहरूले शिक्षणमार्फत युवा पुस्तामा विवेक, आलोचनात्मक सोच र उत्तरदायित्वको चेतना रोप्छन्।
. उनीहरू अनुसन्धानमार्फत समाजका समस्यालाई व्याख्या गर्छन् र समाधानका वैचारिक बाटा देखाउँछन्।
. सार्वजनिक संवाद, लेख र वक्तृत्वमार्फत उनीहरू लोकतान्त्रिक मूल्य, मान्यता, समानता र नागरिक सचेतनाको प्रसार गर्छन् ।
. व्यावहारिक पक्षबाट हेर्दा उनीहरूको बौद्धिक शक्ति कहिलेकाहीँ संस्थागत संरचना, राजनीतिक दबाब र निजी असुरक्षाको कारण निष्प्रभावी बन्न पुग्छ । यसले उनीहरूको वर्गीय चेतनालाई आंशिक रूपमा सीमित बनाउँछ। कहिलेकाहीँ जस्तो बजारमा देखिने जेनजी, पहिचानवादी, संस्कृतिवादी र विभिन्नवादी आन्दोलनले समाजमा पारेको प्रभावलाई धैर्यका साथ गहन अध्ययन गरी आलोचनात्मक भई सामाजिक दायित्वलाई प्रस्ट पार्छन् ।
नेपालको सामाजिक रूपान्तरणमा प्राध्यापकहरूले अहम् भूमिका खेलेका हुन्छन् । त्यसका साथै देशको राजनीतिक अवस्थाले शिक्षण क्षेत्रका प्राध्यापकहरूलाई विविध भूमिकामा सहभागी गराएको देखिन्छ । उनीहरू संघीय शासन, लोकतान्त्रिक चेतना र मानव अधिकारका प्रश्नमा अग्रपङ्क्तिमा देखिन्छन् । यद्यपि आर्थिक वर्गले प्रत्यक्ष रूपमा उनीहरूलाई प्रभाव नपारेका कारण उनीहरूको वर्गीय चेतना अझ पूर्ण रूपमा विकसित हुन सकेको छैन।
अनेक प्राध्यापकहरू आफ्नो पेसालाई केवल जीवन निर्वाहको माध्यमका रूपमा लिन्छन् । एकदमै थोरैले मात्र आफूलाई सामाजिक रूपान्तरणको माध्यमका रूपमा प्रस्तुत गरेको देखिन्छ । यसैले प्राध्यापकहरूको बौद्धिक शक्तिले समाजमा पूर्ण रूपले प्रभाव पार्न सकिरहेको छैन। उनीहरूमाथि राज्यले लगानी गरेको छ, उनीहरूको विचार, चिन्तन, तर्क र विद्वताको विकासमा राज्यमा विभिन्न गतिविधि हुन्छन्, ती गतिविधिबाट विकसित विभिन्न बौद्धिक आयामलाई राज्यले उपयोग गर्नु आवश्यक छ । साथै राज्यले चासो नदिएका कारण धेरै प्राध्यापक आफ्नो चिन्तनलाई राज्यको रूपान्तरणमा उपयोग गर्न नपाएको गुनासो गर्छन् । राज्य निर्माणमा बौद्धिक र चिन्तनशील Think Tank को भूमिकामा प्रस्तुत हुन पाउँदामात्र उनीहरूले आफ्नै वर्गीय स्थिति, राज्यसँगको सम्बन्ध र शिक्षाको रूपान्तरणकारी शक्ति बुझ्नेछन् । अनि उनीहरूको चेतना र बौद्धिकता समाजपरिवर्तनको प्रमुख प्रेरक बन्ने छ।
बिट मार्ने
प्राध्यापकहरू नेपालको मध्यम वर्गीय बौद्धिक आधार हुन्। उनीहरूको आर्थिक स्थायित्व र वैचारिक सम्भावना दुवैले समाजमा सन्तुलन र परिवर्तन दुवैको भूमिका निर्वाह गर्न सक्ने सामथ्र्य प्रदान गर्छ। तर वास्तविक बौद्धिक भूमिका तब मात्रै सम्भव हुन्छ जब उनीहरूले राज्यको कर्मचारीभन्दा पर एक सचेत नागरिक, आलोचनात्मक चिन्तक र परिवर्तनकारी अभियन्ताका रूपमा आफ्नो जिम्मेवारी बोध गर्छन् । यसरी हेर्दा विश्वविद्यालयका प्राध्यापकहरू केवल ज्ञानका प्रसारकमात्र होइनन्, बरु समाजका चेतनाका अभियन्ता र मूल्यका संरक्षक हुन् । उनीहरूको वर्गीय चेतनाको परिष्करण र बौद्धिक सक्रियता नै आगामी नेपालको ज्ञानयुक्त समाज निर्माणको प्रमुख आधार बन्न सक्छ। किनकि उनीहरूको मुख्य कर्म नै नयाँ नयाँ ज्ञान उपादान, परिष्करण, प्रवर्तन र प्रसारण हो । सोही आधारमा उनीहरूले राज्य निर्माणमा चिन्तन गर्ने हैसियत राख्छन् ।









