पथरी, २१ पुस । पूर्वपश्चिम मुख्य सडक विस्तारका क्रममा मोरङको पथरी शनिश्चरे १० स्थित जिरिखिम्तीको मोरङी खोलाको पुल भत्किएर सडक अवरुद्ध बनेको छ । सडक विस्तारका क्रममा दक्षिणतर्फ थप पुल निर्माणका लागि खन्ने क्रममा अग्लो डिस्कोका रुपमा रहेको पुलसँग जोडिएको माटो भत्किएपछि आइतबार साँझबाट सो क्षेत्रमा आवत जावत अवरुद्ध बनेको हो । यस क्रममा सोमबार पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापो र १० नम्बर वडाअध्यक्ष जीवन खतिवडाले सडक निर्माण पक्षसँग भेटी चाँडो भन्दा चाँडो सोही खोलाबाट डाइभर्सन तयार गर्न अनुरोध गर्नुभएको छ ।
सो टोलीले त्यसभन्दा पूर्वमा रहेको डाँस खोला पुलैसम्म उत्तरतर्फ गहिरो रुपमा खनिएको क्षेत्रको पनि निरीक्षण गरेको छ । खोला गहिरो पारेर खन्दा पुल र बस्तीलाई असर पर्नसक्ने सम्भावनालाई दृष्टिगत गरी त्यसको पनि व्यवस्थापनमा ध्यान दिन जानकारी गराएको छ ।
सो क्षेत्रमा सडक जोखिम परेपछि पश्चिम जाने यातायातका साधनहरु पथरी चोकबाट जाँते हुँदै लेटाङबाट कानेपोखरी झर्ने गरेका छन् । पूर्व आउनेहरु कानेपोखरीबाट लेटाङहुँदै जाँतेबाट घुमेर २४ किलोमिटर बढी घुमाउरो बाटो यात्रा गर्नु पर्ने वाद्यता रहेको छ ।









