काठमाडौँ,२३ पुस । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गरेको उम्मेदवार चयनमा पार्टीका दुवै महामन्त्रीले असन्तुष्टि जनाउनु भएको छ । महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवार चयनका लागि मंगलबार र बुधबार बोलाइएका कार्यसम्पादन समितिको बैठक बहिस्कार गर्नु भयो भने अर्का महामन्त्री गगन थापाले उम्मेदवार चयनको विषयमा फरक मत राख्नु भएको छ।
बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा तालमेल, उम्मेदवार छनोटका विषयमा असहमति जनाउँदै महामन्त्री थापाले फरक मत राखेको बताउनु भएको छ।
‘मैले पार्टीको निर्णयमा फरक मत दर्ज गरेको छु । विधान, प्रक्रिया मिच्ने काम भएको छ’, महामन्त्री थापाले बैठकपछि सञ्चारकर्मीहरूसँग भन्नु भयो । थापाले समितिको बैठकमा सहभागी भए पनि विधान मिच्ने कामप्रति फरक मत राखेको बताउनु भयो ।









