भारत,२९ पुस। भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौजना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउने सबैजना सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुरा निवासी दुई परिवारका सदस्य रहेको बताइएको छ ।
सोमबार राति २ बजे उनीहरू सुतिरहेको कोठाको ग्यास सिलिन्डर विस्फोट हुँदा यो घटना भएको हो । विस्फोटपछि आगलागी हुँदा वरपरका घर पनि जलेर ध्वस्त भएको जनाइएको छ । विस्फोटपछि उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको हो ।
सिद्धकुमाख गाउँपालिकाकी–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक रहेका छन् ।
यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विक पनि यो विस्फोटमा मारिएका छन् ।
उनीहरू सबैजना दुई वर्षदेखि रोजगारीका लागि भारतमा बस्दै आएका थिए । मजदुरी गर्दै आएका उनीहरू बसेको कोठामै ग्यास सिलिन्डर राखिएको थियो ।
उक्त दुर्घटनापछि अहिलेसम्म पाँच जनाको शव फेला परेको जनाइएको छ। बाँकी शवको खोजीर्काय जारी रहेको छ।
विस्फोटका कारण शवहरू क्षतविक्षत भएकाले सबैको पहिचान कार्य भइरहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । अहिले घटनास्थलमा स्थानीय प्रशासन र सुरक्षाकर्मी परिचालित गरिएको छ।









