काठमाडौँ,३० पुस । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ स्थित हायुटारमा अवस्थित एसबिआई बैंकमा पुस २९ मा साँझ ६–७ जना प्रवेश गरेका थिए । गाउँपालिकाको केन्द्रमा सञ्चालित बैंकको शाखाका सुरक्षा गार्ड रुद्रबहादुर कार्की खाना पकाउँदै हुनुन्थ्यो । बैंकको अरू ३ जना कर्मचारी खाना खान बाहिर निस्कीनु भएको थियो ।
लुटेराहरूले सुरक्षा गार्डलाई आक्रमण गरे । खाना खाएर फर्किएका अरू कर्मचारीलाई पनि हातखुट्टा बाँधेर बैंकमा भएको नगद लुटेर भागेका थिए । लुटेराले बाहिरबाट चुकुल लगाएर सुरक्षा गार्ड र कर्मचारीलाई भित्रै थुनेर भागेका थिए । प्रहरी पुगेर उनीहरूको उद्धार गरेको थियो। सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार बैंकबाट ३ करोड १० लाख लुटपाट भएको छ ।
सुरक्षा गार्ड रुद्रबहादुर कार्कीका अनुसार मङ्की टोपी लगाएर आँखा मात्र देखिनेगरी लुटेरा बैंकमा प्रवेश गरेका थिए । उनीहरूमध्ये दुईजनाले पेस्तोल देखाए, चारजनाले खुकुरी देखाएर गार्डलाई तर्साएका थिए । कार्की भन्नु हुन्छ, ‘मैले प्रतिकार गर्न खोज्दा खुकुरीले हातमा हानेर घाइते बनाए, हातखुट्टा बाँधेर लडाए ।’
कार्कीका अनुसार स्टिलको जस्तो देखिने पेस्तोल लुटेराहरूले प्रदर्शन गरेका थिए । लुटेराले फालेको रकमको एउटा बोरा जङ्गलमा फेला परेको छ । स्थानीयको सहयोगमा प्रहरीले एउटा बोरामा प्याक गरेको रकम जङ्गलबाट बरामद गरेको छ।
लुटेराहरूले बनेपाबाट बिएडी–०३९८ नम्बरको टाटा सुमो रिजाभ गरेर लगेका थिए । सुमो प्रहरीले नियन्त्रणमा लिएको छ । सुमोका चालक भगत सिंह थापा सहित चार जनालाई पक्राउ गरिएको एसपी सुवेदीले जानकारी दिनु भयो । अरू ३ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
जङ्गलमा भेटिएको र लुटेराको साथबाट अहिलेसम्म १ करोड ८० लाख १० हजार नगद प्रहरीले बरामद गरेको जनाएको छ । आरोपीहरू घ्याङलेखको वडा नम्बर–२ बाट पक्राउ परेका छन्। बैंकको सुरक्षा गार्ड कार्कीका अनुसार लुटेराले उहाँलाई ‘नबोल’ भनेर मुख थुनेका थिए । कार्की भन्नु हुन्छ, ‘नबोल भनेर मेरो मुख थुने, दुईजनाले पेस्तोल र ४ जनाले खुकुरी देखाए ।’









