जनकपुरधाम,३० पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सो कुरा बताउनु भएको हो।
उहाँले वर्तमान सरकार निर्वाचन गराउने म्यान्डेट लिएर बनेको सरकार रहेकाले निष्पक्ष निर्वाचन गराई छोड्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘यो सरकारको सुशासन तथा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने म्यान्डेट रहेको छ । सोही लक्ष्य अनुरूप वर्तमान सरकारले काम गरिरहेको छ ।’
उहाँले स्वतन्त्र व्यक्तिहरूको नेतृत्वमा बनेको सरकारले दलीय पक्षधरता नराखी निर्वाचन गराउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो। देशमा निर्वाचनको माहौल निर्माण भइसकेको दाबी गर्दै गृहमन्त्री अर्यालले यसका लागि नागरिक तथा त्यसभित्र पनि जेनजी पुस्तासँग सहकार्य गरेर सरकार अगाडि बढिरहेको बताउनु भयो ।
अर्को एक प्रसङ्गमा गृहमन्त्री अर्यालले अपराध रोक्न सरकार कटिबद्ध रहेको समेत बताउनु भयो । उहाँले अपराध तथा हिंसा नियन्त्रणका लागि सरकारले सुरक्षा निकायको मनोबल बढाउने दिशामा समेत काम गरिरहेको बताउनु भयो ।
गृहमन्त्री अर्यालले अभिव्यक्ति स्वतन्त्रताको नाममा जे पायो त्यो बोल्न छुट नहुने समेत बताउनु भयो । उहाँले अभिव्यक्ति स्वतन्त्रताको नाममा साम्प्रदायिक हिंसा र धार्मिक द्वन्द्व फैलाउने तथा राजनीतिक हिंसा भड्काउने खालको अभिव्यक्ति दिने छुट नहुने समेत बताउनु भयो ।
कार्यक्रममा मधेसका मुख्यमन्त्री कृष्ण यादवले प्रहरी समायोजन छिट्टै हुनुपर्ने बताउनु भयो । उहाँले संविधानको मर्म अनुसार प्रहरी समायोजन नहुँदा प्रदेशमा हुने घटनाहरूको जिम्मेवारी प्रदेशले लिने वा सङ्घले लिने भन्ने विषयमा संशयको स्थिति रहेको स्पष्ट पार्नु भयो ।
मुख्यमन्त्री यादवले अहिलेको परिस्थितिमा भयरहित वातावरणमा निर्वाचन हुनेमा संशय रहेको समेत बताउनु भयो । उहाँले प्रहरीबाट लुटिएका हतियार र जेल तोडेर भागेका अपराधीहरू बाहिर रहेको स्थितिमा भयरहित वातावरणमा निर्वाचन हुनेमा शङ्का रहेको बताउनु भयो ।









