काठमाडौं, ३० पुस । नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान गगन थापालाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित दुई महामन्त्रीले संस्थापन पक्षलाई सहमतिको निम्ति ’अन्तिम विकल्प’ को प्रस्ताव पठाएको जनाएका छन्।
दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सहमतिको अन्तिम विकल्पको सन्देश पठाउनु भएको छ। शेरबहादुर देउवाले पार्टी नेतृत्वका रूपमा कुनै काम–कारबाही नगर्ने, संसदका उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति खड्काको हस्ताक्षर हुने, अर्को महाधिवेशन नहुञ्जेल अन्तरिम अवधिसम्म पार्टीका मुख्य निर्णय गर्न चार–पाँच जना नेताको ’हाई कमान्ड’ बनाउने र गगन थापालाई कांग्रेसको भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै उहाँकै नेतृत्वमा आगामी चुनावमा जाने प्रस्ताव गरिएको स्रोतले बताएको छ।
पार्टी हाई कमान्डमा रहने नामहरूमा कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा, वरिष्ठ नेता शेखर कोइराला रहने गरी मंगलबारदेखि छलफल चलिरहेको छ।
सभापति शेरबहादुर देउवासँग आज बिहान उहाँको निवास महाराजगन्जमा भएको वार्तामा कुनै सहमति हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्माले यो अन्तिम विकल्पको सन्देश पठाउनु भएको हो। कार्यवाहक सभापति खड्कासहित संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पार्टी कार्यालय सानेपामा छलफल गरिरहनु भएको छ ।
सभापति देउवा पार्टीका सबै कामबाट अलग हुने र अबदेखि निर्वाचनका उम्मेदवारहरूको टिकट बाँड्ने लगायतका काममा आफ्नो हस्ताक्षर प्रयोग नगर्नेबारे लचिलो प्रवक्ता प्रकाशशरण महतले बताइसकनु भएको छ। सहमतिको अन्तिम प्रयास चलिरहँदा विशेष महाधिवेशनअन्तर्गत चुनावमा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र मतदान प्रक्रिया अघि बढाउने कार्यमा ढिलाइ भएको छ।
बिहान ११ बजे सकिएको मनोनयन दर्ता अनुसार सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ। त्यस्तै, महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेदवारी परेको छ भने सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिनु भएको छ। लामा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री हुनुन्छ । कांग्रेसमा ८ जना सहमहामन्त्री रहनेछन्।
दोस्रो विशेष महाधिवेशनले एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित गर्नेछ। त्यस्तै, महाधिवेशनले ८ सहमहामन्त्रीसमेत निर्वाचित गर्नेछ। नेपाली कांग्रेसको विधानअनुसार सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ वटा क्लस्टर छुट्टयाइएको छ।









