काठमाडौँ,३० पुस । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी अन्य कुनै पनि दलसँग एकीकरण हुने हल्ला भ्रामक र असत्य भएको बताउनु भएको छ। उहाँले सामाजिक सञ्जालमार्फत पार्टी एकीकरणबारे चलेका हल्लाको खण्डन गर्नु भएको छ।
घिसिङले आफ्नो नाम र पार्टीलाई जोडेर अन्य दल, विशेष गरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने प्रचार पूर्ण रूपमा निराधार रहेको स्पष्ट पार्नु भएको छ। बजारमा चलेका यस्ता हल्लामा कुनै सत्यता नरहेको उहाँको भनाइ छ।
उहाँले उज्यालो नेपाल पार्टी कुनै पनि शक्तिसँग विलय नभई आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अघि बढिरहेको बताउनु भयो। भविष्यमा पनि पार्टीले सोही बाटो अवलम्बन गर्ने उहाँले उल्लेख गर्नु भएको छ। घिसिङले यस्ता निराधार र भ्रम फैलाउने समाचारको पछि नलाग्न र त्यसमा विश्वास नगर्न सबैलाई आग्रह समेत गर्नु भएको छ।









