बालमैत्री कार्यक्रम र कार्यन्वयनको पाटो

अभिभावकले बालबालिकालाई अनुशाशित बनाउने र संस्कारयुक्त बनाउन दमनात्मक शैली प्रयोग गरिरहेका हुन्छौ, यस्तो सैलिले बालबालिका अनुशाशित हुनुको सट्टा अराजक बन्दै गहिरहेका हुन्छन ।

  माधवमणि खनाल

बालबालिकालाई जे पर्दैन त्यो प्रकृतिको व्यवहार नगर्नुलाई बालमैत्री व्यवहार भनिन्छ। बाल अधिकार महासन्धि १९८९ ले पहिलो पटक बालबालिकाको अधिकारलाई लिपिबद्ध गरिएको छ। नेपालमा बालबालिका सम्बन्धि ऐन २०४८ र नेपालको संबिधान २०७२ को धारा ३९ ले बालबालिकाको अधिकार सम्बन्धि अधिकारको ब्याख्या गरेको छ भने नेपाल  सरकार शिक्षा मन्त्रालयले गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय प्रारूप २०६७ जारी गरी आधारभूत रूपमा बालमैत्री विद्यालयभित्र समावेश हुनुपर्ने तत्त्वबारे प्रकाश पारेको छ।

 

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा पनि हरेक विद्यालय बालमैत्री हुनुपर्ने तथा बाल मनोविज्ञानलाई ध्यान दिई बालबालिकालाई उमेर अनुरूपका सिप सिकाइका लागि उत्प्रेरित गर्ने कुरालाई जोड दिएको छ।जुन कुरालाई राष्ट्रिय शिक्षा नीति २०७६ ले समेत सम्बोधन गरेको छ। तर बालबालिका हुर्केबढेको वातावरण र परिवेश बालमैत्री हुनुपर्दछ भन्ने अवधारणालाईकार्यान्वयन गर्न बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ समेत जारी गर्दैबालबचाऊ, बाल संरक्षण, बालविकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बल अधिकारका सवालहरुलाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्य प्रकिया र व्यवहारमा संस्थागत गरी २०८७ सालसम्म सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासन बनाउने लक्ष्यका साथ जारी भएको उक्त निर्देशिकाले ५१ ओटा सूचक पूरा भएपछि कुनै पनि स्थानीय तहले आफूलाई बालमैत्री घोषणा गर्न सक्ने प्रबन्धसमेत गरेको छ। सरकारी तथा गैर सरकारी तर्फवाट बालमैत्री र बालबालिका सम्बन्धि  विद्यालयमा नीतिगत रूपमा अत्यन्त राम्रा व्यवस्था भए पनि आर्थिक अभाव, कुशल व्यवस्थापन क्षमताको अभाव तथा बालमैत्री शब्दको वास्तविक मक्सद बुझ्न नसकेका कारण बालबालिकालाई प्रदान गरिने वातावरण पूर्णतया बालमैत्री बन्न सकेको छैन। बालमैत्री अवधारणालाई मूर्त रूप दिने सन्दर्भमा दातृ संस्था र सरकारी निकायले भौतिक संरचनालाई बढी जोड दिएको देखिन्छ।

 

बालमैत्री पद्धति र व्यवहार सम्बन्धमा  सरकारी तथा अन्य क्षेत्रवाट विभिन्न तालिम, गोष्ठी, सेमिनार र ति कार्यक्रम पनि पालिकाको हल, वडा कार्यालय जस्ता स्थानमा दुई तिन घण्टाको संचालन गरेर बालमैत्री बन्न सक्दैन, यसका लागि प्रत्येक अभिभावकको विचार परिवर्तन जरुरी हुन्छ । विचार परिवर्तनले व्यवहार परिवर्तन हुन्छ र परिवर्तित व्यवहारले संस्कारमा  परिवर्तन हुन्छ त्यहि परिवर्तित बिचार र संस्कारले बालबालिकालाई हेर्ने नजर र व्यवहारमा परिवर्तन आउन सक्छ अनिमात्र बालमैत्री अवधारणाको सुरुवात हुन्छ ।

 

स्थानीय सरकारले बालमैत्री पालिका घोषणाका लागि सूचक पूरागर्न अल्पकालीन लगानी र कार्यक्रम संचालन गरि ५१ वटा सूचक गर्ने तर्फ मात्र केन्द्रित देखिन्छन् । यस्ता कार्यक्रमले घोषणा त होला तर वास्तविक समस्या काचै रहने छ । स्थानीय सरकारले बालमैत्री शासन घोषणा भन्दा अभिभावकलाई सचेत र सुसूचित गराउन जरुरि देखिन्छ किनभने बाल सहभागिता, बाल बचाऊ, बाल संरक्षण र बाल सहभागिताको सुरुवात घरपरिवारवाट हुनुपर्छ । बालबालिकाले परिवार र समाजवाट जे सिक्छन, परिवार र समाजलाई पनि त्यहि दिन्छन ।बालबालिका व्यक्तिगत र सामाजिक विकासमा पारिवारिक सम्बन्ध तथा वातावरणले असर परेको हुन्छ । अभिभावकले बालबालिकालाई अनुशाशित बनाउने र संस्कारयुक्त बनाउन दमनात्मक शैली प्रयोग गरिरहेका हुन्छौ, यस्तो सैलिले बालबालिका अनुशाशित हुनुको सट्टा अराजक बन्दै गहिरहेका हुन्छन ।शिक्षाको जीवनमा जति महत्व छ , सो भन्दा बढी संस्कारको महत्व रहन्छ । एउटा परिवार संस्कारयुक्त बन्नका लागि आर्थिक, सामाजिक, शैक्षिक र मनोबैज्ञानिक रुपमा सम्पन्न भएको हुनुपर्छ । नेपालको ग्रामिण परिबेश आर्थिक विपन्नता, सामाजिक पछौटेपन, शैक्षिक विपन्नता भएको जनसंख्याको बाहुल्यता रहेको छ र  यस्तो जनसंख्याको चेतना बालमैत्री बन्न सकिरहेको छैन भने अर्को तिर शिक्षित व्यक्तिहरुको परिवार पनि विखण्डित बन्न गइ बालबालिकाको बिचलित बनिरहेको अवस्था छ । यस्तो अवस्थामा बालमैत्री परिवार ,समाज र सरकार कसरी निर्माण गर्न सकिन्छ ?यस तर्फ सबैको ध्यान जानु जरुरि देखिन्छ।

 

बालबालिकालाई हुर्काउने क्रममा घरपरिवारबाट दिइएका सेवासुविधा तथा पारिवारिक शिक्षा जस्ता कुराले उनीहरूको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ। श्रमशोषण, पोषणयुक्त खानाको अभाव, अपहेलना, पारिवारिक र लैङ्गिक हिंसा, उपयुक्त स्वास्थ्य सुविधा प्राप्त गर्न नसक्नु र पारिवारिक ममताबाट वञ्चित हुनुपर्ने परिस्थितिले बालबालिकालाई निराश  बनाउँछ। यस्तो अवस्थामा उनीहरूको घरपरिवार बालमैत्री बन्न सक्दैन। त्यसैले बालबालिका हुर्केबढेको वातावरण र परिवेश बालमैत्री हुनुपर्दछ।

 

स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्रका बालबालिकालाई विद्यालय तथा अन्य सार्वजनिक स्थल र घरपरिवारमा समेत उपयुक्त किसिमको वातावरण सिर्जना गर्न विभिन्न कार्यक्रमहरू  गर्ने गरेका छन्। निर्देशिकाले निर्देशित गरेका कार्यक्रमहरुलाई बालबालिकाको सर्वोत्तम हित, बालबालिकाको समग्र विकास, बालबालिकाको सहभागिता र विचारको सम्मान जस्ता कार्यक्रम अघि सारेको छ, यस्ता निर्देशित कार्यक्रमको साथै पालिकाले समुदाय लक्षित कार्यक्रम सगसगै अगाडी बढाइ सरकारवाट प्राप्त हुने सहयोग र अनुदान परिवारले बालबालिकालाई गर्ने बालमैत्री व्यवहारका आधारमा वितरण गर्ने नियम बनाई यसलाई काढाईका साथ कार्यान्वयन गर्न सकेमा बालमैत्री पालिकाको रुपमा विकास गर्न सहज हुन सक्छ ।

 

 

नेपालमा अझै पनि सार्वजनिक सवारी साधन , होटल तथा अन्य क्षेत्रमा श्रम गर्ने बालबालिकाको संख्या ठूलो छ। अलपत्र अवस्थामा रहेका रपारिवारिक हिंसा भोगेका, गरीबी र अभावको पीडा बीच अभिभावकविहीन बालबालिका पनि उतिकै संख्यामा रहेका छन् । यसलाई कसैले पनि समाधानका लागि  प्रभाबकारी र ठोस कार्यक्रम संचालन गरि दीर्घकालीन समाधान तर्फ ध्यान दिएको अवस्था छैन र यसका लागि  स्थानीय सरकारले उपयुक्त किसिमले अनाथ, असहाय र अशक्त बालबालिकालाई आधारभूत सुविधा प्रदान नगरुन्जेल बालअधिकार र बालमैत्री  विषय कागजी दस्तावेजका रूपमा मात्र रहने निश्चित छ।

 

बालबालिकाको परिवार र समुदायको सहभागितामूलक बालमैत्रीसिकाइ  अपरिहार्य मानिन्छन्।  यी आधारभूत कुराको उपलब्धतासँगै विद्यालयको भौतिक अवस्था र प्रजातान्त्रिक वातावरणमा सम्पन्न हुने शिक्षण सिकाइ प्रक्रियालाई बालमैत्री विद्यालयका  रूपमा अगाडि सारिएको छ। यति मात्र होइन, विद्यालय व्यवस्थापन र विद्यालयबाट जारी गरिने नियम तथा कार्यक्रमहरूमा बालबालिकाको प्रत्यक्ष सहभागिता र आधारभूत तहमा  मातृभाषामा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुलाई पनि बालमैत्री वातावरणको अवधारणाभित्र राखिएको छ। तर कतिपय सामुदायिक विद्यालयले जवरजस्ती अंग्रेजी माध्यम संचालन गरिएको अवस्था पनि रहेको छ ।

 

बालमैत्री वातावरण सिर्जना गर्नका लागि भौतिकपक्षलाइ बढी जोड दिएको पाइन्छ तर भौतिक पक्ष भन्दा  मानवीय पक्ष नै बढी जिम्मेवार हुने गर्दछ। जतिसुकै राम्रो भवन र भौतिक सुविधा भए पनि  कक्षाकोठामा पढाउने विधि प्रजातान्त्रिक  र त्यहाँ बालबालिका रमाउन सक्ने बालमैत्री व्यवहारको अवस्था छैन भौतिक सुधारले गुणस्तरीय सुधार हुन् सक्दैन । यसका लागि बालअधिकार, बालमनोविज्ञान र बालरुचिका विषयलाई महत्त्व दिई समयको माग, बालबालिकाको आवश्यकता र वास्तविक स्थिति तथा क्षमतालाई बुझेर त्यस अनुकूलको शिक्षा र वातावरण दिन सक्नुपर्दछ।

 

“बालमैत्री समाजको आधार, जिम्मेवार परिवार र उत्तरदायी सरकार”नारालाई सार्थक बनाउन र बालमैत्री समाज निर्माण गर्न परिवारको मनस्थितिमा परिवर्तन गराई बालमैत्री वातावरण निर्माण, बालमैत्री समाज निर्माणमा सामाजिक एकता, बालबालिकाको क्षेत्रमा कार्य गर्ने सस्थाहरुले परिणाममुखी कार्यक्रम संचालन, सरकारको तर्फवाट निरन्तर र प्रभावकारी कार्यक्रम संचालन गर्नु पर्छ र यस्ता कार्यलाई निरन्तरता दिन सके मात्र बालमैत्री शाशन निर्माण गर्न सकिने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालमैत्री कार्यक्रम र कार्यन्वयनको पाटो

अभिभावकले बालबालिकालाई अनुशाशित बनाउने र संस्कारयुक्त बनाउन दमनात्मक शैली प्रयोग गरिरहेका हुन्छौ, यस्तो सैलिले बालबालिका अनुशाशित हुनुको सट्टा अराजक बन्दै गहिरहेका हुन्छन ।

‘के साँच्चिकै बजारमा ग्यास अभाव भएको हो ?’

“हिजोसम्म एउटा सिलिन्डर मात्र प्रयोग गर्नेले अहिले तीनवटासम्म एकैपटक लैजान थालेपछि बजारमा खपत बढेको हो। तर ग्यास आपूर्ति भने रोकिएको छैन,”

धनेश्वर धाम : धार्मिक आस्था र पर्यटकीय आकर्षणको नयाँ केन्द्र

धार्मिक आस्था, आकर्षक संरचना र निरन्तर भइरहेका पूर्वाधार विकासका कारण धनेश्वर धाम अहिले दमक क्षेत्रको मात्र होइन, समग्र पूर्वी नेपालकै एक महत्वपूर्ण धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विस्तार हुँदै गएको देखिन्छ।