विराटनगर,२४ वैशाख।“१३० वर्षको गौरव शाली इतिहास, ५ बिगाहाभन्दा बढी क्षेत्रफल। तर विडम्बना! पूर्वकै भरोसा मानिएको कोशी अस्पताल आज अस्पताल जस्तो छैन, एउटा अव्यवस्थित ’सुकुम्बासी बस्ती’ जस्तो देखिन्छ। विराटनगरका निजी अस्पतालहरूले महल ठड्याउँदा, गरिबका सन्तान उपचार पाउने यो सरकारी अस्पताल किन थला परेको छ?“
“भवनहरू जीर्ण छन्, नयाँ ओपिडीको म्याद थपिएको थपिएै छ। अस्पतालमा कर्मचारीको ओइरो छ, तर ती बिरामी जाँच्न होइन, राजनीतिक आडमा भर्ती भएका हुन्। सरसफाइ गर्ने दरबन्दीमा पिएन र सहायक स्वास्थ्यकर्मी नियुक्त गरिएका छन्, तर विशेषज्ञ डाक्टर भेट्न आकाशको फल जस्तै भएको छ। दैनिक हजारौं बिरामी पुग्छन्, तर न त निःशुल्क औषधि पाइन्छ, न त डाक्टरको समय!“
“अस्पताल भित्रका डाक्टर र नर्सहरू सरकारी सेवाभन्दा निजी क्लिनिकमा बढी व्यस्त भेटिन्छन्। सरकारी नियम भन्छ—अस्पतालको १ किलोमिटर क्षेत्रभित्र निजी अस्पताल खोल्न पाइँदैन। तर कोशीकै वरिपरि दर्जनौं अस्पताल र ल्याबको व्यापार फस्टाएको छ। यहाँ भित्रका मेसिन बिग्रिए बनाउने प्राविधिक छैनन्, तर बिरामीलाई बाहिर पठाउने ’सेटिङ’ भने मजबुत छ।“
“अपरेशनका लागि महिनौं कुर्नुपर्ने बाध्यता छ। अस्पतालको शौचालयको गन्धले कुरुवाहरू नाक थुनेर हिँड्न बाध्य छन्। अझ अचम्मको कुरा त के छ भने, अस्पतालको आफ्नै जग्गा विभिन्न संघसंस्थाले कब्जा गरेर पक्की संरचना बनाई भाडा खाइरहेका छन्, तर अस्पताल प्रशासन मूकदर्शक छ। यहाँसम्म कि पोष्टमार्टमका लागि आउने शवहरू राख्न समेत पर्याप्त फ्रिज र ठाउँ छैन।“
“सरकार फेरिन्छ, मेसु फेरिन्छन्, तर कोशी अस्पतालको अवस्था फेरिँदैन। अब बालेन्द्र शाह नेतृत्वको सरकार र नयाँ स्वास्थ्य मन्त्रीसँग नागरिकको एउटै प्रश्न छ— के यो ऐतिहासिक अस्पतालले कहिल्यै काँचुली फेर्ला? कि यसरी नै राजनीतिको शिकार भइरहला?









