इलाम/ इलामको पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय तहले चासो देखाउन थालेका छन । पर्यटकको प्रमुख रोजाइमा इलाम पर्न थालेपछि स्थानीय तहले पनि नयाँ नयाँ गन्तव्यको खोजी गर्न थालेका हुन् ।
जसले गर्दा नयाँ पर्यटकीय स्थल समेत आन्तरिक पर्यटकको गन्तव्यस्थलको रूपमा विकास हुँदै गएको देखिन्छ । इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार देखि ५ किलोमिटरको यात्रामा पुग्न सकिने पर्यटकीयस्थल हो, थुम्केरानी । पछिल्लो समय थुम्केरानीमा सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् ।
इलाम सदरमुकाम इलाम बजारबाट सूर्योदय हेर्नको लागि सबै भन्दा नजिक पर्ने भएकाले पर्यटकहरुको पहिलो रोजाई थुम्केरानी बन्दै गएको हो । इलाम बजारदेखि सोयाङ हुँदै नयाँबजारसम्म गाडीबाट १ घन्टामा पुग्न सकिन्छ, थुम्केरानी । नयाँबजार बास बसेर बिहानै ३० मिनेटमा पुग्न सकिने भएपनि अहिले थुम्केरानी क्षेत्रमा नै होमस्टे संचालनमा आएका छन् ।
असोज, कात्तिक, मंसिर, चैत्र र वैशाख महिनामा थुम्के क्षेत्रमा बढी पर्यटकहरु पुग्ने गरेका छन् । समुुद्र सतहको २ हजार ४ सय मिटर उचाईमा रहेको थुम्केरानीको पहिचानको प्रचार हुँदै आएको स्थानीयको भनाइ छ ।