बिर्तामोड, झापा निरन्तरको वर्षासँगै आएको बाढीले झापाको बिर्तामोडमा एउटा तीनतले पक्की घर ढाल्ने गरी कटान गरेको छ । बिर्तामोड नगरपालिका–५ स्थित सुकुम्बासी गुड लाइनमा पानीको तीव्र बहावका कारण एक स्थानीयको तीनतले पक्की घर एकतर्फ कोल्टिएको (ढल्केको) हो ।
आइतबार बिहानको राति करिब २:३० बजे सुगम पैनीमा अचानक पानीको बहाव बढेको थियो । सोही बहावका कारण स्थानीय पहलमान ठाकुरको तीनतले घरको जग (फाउन्डेसन) बगाएपछि सिङ्गो भवन एकाएक एकतर्फ कोल्टिन पुगेको इलाका प्रहरी कार्यालय अनारमgLले जनाएको छ ।
मध्यराति घरको जग नै बगाएर भवन ढल्किएपछि उक्त क्षेत्रमा केही बेर भागाभाग र त्रास फैलिएको थियो । घटनालगत्तै इलाका प्रहरी कार्यालय अनारमणीबाट खटिएको प्रहरी टोलीले तदारुकता देखाउँदै घरभित्र रहेका सबै सदस्यहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सारेको थियो । प्रहरीका अनुसार समयमै उद्धार गरिएकाले घटनामा कुनै मानवीय क्षति भने हुन पाएको छैन ।
“लगातारको वर्षाले घरको आधार (जग) एकदमै कमजोर बनाएकाले भवन एकतर्फ ढल्केको हो । अहिले यो घर थप जोखिममा छ,” स्थानीय बासिन्दाले चिन्ता व्यक्त गर्दै भने ।
कोल्टिएको तीनतले भवन जुनसुकै बेला ढल्न सक्ने अवस्थामा रहेकाले उक्त क्षेत्रमा थप जोखिम बढेको छ । दुर्घटनाको सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले आसपासका छिमेकी तथा बासिन्दाहरूलाई समेत सजग र सतर्क रहन आग्रह गरेको छ ।
प्रहरीले अहिले उक्त क्षेत्रको निरीक्षण गरी आवश्यक सुरक्षा व्यवस्था मिलाएको र जोखिमपूर्ण संरचना आसपास आवतजावतमा रोक लगाएको जनाएको छ ।









