इलाम : १२औँ संस्करणको इटहरी गोल्डकप आगामी चैत १९ गतेबाट हुने भएको छ। आयोजक राष्ट्रिय जागृति क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा औपचारिक जानकारी गराएको हो। इटहरी रंगशालामा आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ३ क्लबसहित ८ टोलीको सहभागिता रहनेछ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी क्लब, न्युरोड टिम (एनआरटी), झापा–११, मोरङ–११ र आयोजक राष्ट्रिय जागृति क्लब सहभागी हुँदैछन्। प्रतियोगितामा पाहुना टोलीको रूपमा कञ्चनजंघा एफसी भारत र एभरनिर एफसी क्यामरुनको सहभागिता रहने आयोजक क्लबका सदस्य कोवितजंग कार्कीले जानकारी दिए।
चैत २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर र उदियमान खेलाडीले ४० इन्चको आकर्षक एलइडी टिभी हात पार्नेछ। प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद १० हजार र विधागत उत्कृष्टलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजक समितिका संयोजक अनुरोध थापाले जानकारी दिए।
प्रतियोगितालाई कन्ट्रोल लुबरिकेन्टले मुख्य प्रायोजन गरेको छ। इटहरी नगरपालिकाले प्रतियोगिताको संयोजन गरेको हो। यसअघि २०७५ माघ १२ देखि १९ गतेसम्म इटहरी रंगशालामा मदन भण्डारी इटहरी गोल्डकप संचालन भएको थियो। प्रतियोगितामा मनाङलाई हराउँदै आर्मीले उपाधि जितेको थियो।