काठमाडौँ,३ भदौ। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकामाथि संसद्मा कडा प्रहार गर्नु भएको छ।राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पोर्तेलले वर्तमान सरकारका कारण जनताले सास्ती भोग्नुपरेको र मुलुकको आर्थिक सूचकाङ्कहरू ओरालो लागेको दाबी गर्नु भएको छ ।
सांसद पोर्तेलले रास्वपाको उदयलाई चर्चित हिन्दी गीत ‘उपरवाला जब भी देता, देता छप्पर फाड के’ सँग तुलना गर्दै व्यङ्ग्य गर्नु भएको छ। उहाँले भन्नु भयो, ‘अरू बेला २–३ मिनेट बोल्न पाउने, आज १५ मिनेट पाएँ, मलाई रास्वपाको जस्तै लाग्यो । उहाँहरूले १८२ सिट ल्याए १०० वटा काम गर्छु भन्नुभएको थियो, तर जनताले मूल्याङ्कनमा ‘डी’ ग्रेड मात्र दिएका छन् ।’
वर्तमान अवस्थामा जनताले ग्यास र दाउरा समेत नपाएर ‘मलामी खाजा’ खाएर दिन काट्नुपर्ने अवस्था आएको उहाँले बताउनु भयो । सरकारले इन्डक्सन चुलोको प्रचार गरे पनि बिजुलीको भर नभएको उहाँको आरोप थियो ।
‘चन्द्रमाबाट हेर्दा चीनको ग्रेट वाल देखिन्थ्यो रे, अहिले त नेपालको ग्यासको लाइन पनि देखिन थाल्यो रे,’ उहाँले कटाक्ष गर्नु भएको छ ।









