काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ।

बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति पुर्‍याउन थालेपछि वडा कार्यालयले यस वर्ष ९ जना हेरालु खटाएको हो। साथै, खेतीयोग्य जमिनको छेउमा काँडेतारको जाली लगाउने कामलाई समेत निरन्तरता दिइएको छ।

ख्याहामा पछिल्ला तीन वर्षदेखि साउन र भदौमा करिब डेढ महिनाका लागि हेरालु परिचालन गरेर मकैबाली जोगाउने अभियान सञ्चालन हुँदै आएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। हेरालुलाई प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले पारिश्रमिक दिने गरिएको छ।

यस वर्ष धैरैनी, मेयलपानी, रातामाटा र कोटफेरालगायत क्षेत्रमा ६ जना तथा जोगीथुपलगायतका क्षेत्रमा ३ जना गरी ९ जना हेरालु परिचालन गरिएको छ। उनीहरू बिहान उज्यालो भएदेखि साँझ अँध्यारो नहुन्जेल किसानका मकैबारीमा खटिने गरेका छन्।

वडा कार्यालयले हेरालुलाई गुलेली, नक्कली बन्दुक (पोलिपाइप), गोला तथा बारुदलगायत सामग्रीसमेत उपलब्ध गराएको छ। हेरालु परिचालन भएपछि किसानले दिनरात खेतमै बसेर बाली कुर्नुपर्ने बाध्यता केही कम भएको स्थानीय बताउँछन्।

स्थानीयका अनुसार दिउँसो बाँदरको समस्या बढी हुने गरेको छ भने रातिको समयमा बँदेल, दुम्सी, मृग र घोरलजस्ता वन्यजन्तु खेतबारीमा प्रवेश गर्ने गरेका छन्। त्यसलाई नियन्त्रण गर्न वडा कार्यालयले काँडेतारको जाली लगाउने कामसमेत अघि बढाएको छ।

किसान पूजा सुनारका अनुसार काँडेतार र जाली लगाएपछि रातिको समयमा खेतमा आउने वन्यजन्तुको प्रवेश केही घटेको छ। ‘अहिले बाँदर हेरालु नभएको भए घरमा बस्न पनि पाइँदैनथ्यो। जतिबेला पनि बारीमै बस्नुपर्ने अवस्था हुन्थ्यो,’ उनले भनिन्, ‘हेरालु भएपछि केही राहत मिलेको छ। तैपनि बाँदरले झुक्याएर बाली खाने समस्या भने अझै छ।’

स्थानीयका अनुसार काँडेतारले घेरिएको क्षेत्रमा विशेषगरी मृग, बँदेल र दुम्सीको प्रवेश घटेको छ। एक वर्षअघिसम्म रातिको समयमा वन्यजन्तुले मकैबालीमा ठूलो क्षति पुर्‍याउने गरे पनि जाली लगाएपछि समस्या कम भएको हेरालुसमेत रहेका किसान रोशन सुनारले बताए।

वडा कार्यालयले अघिल्लो आर्थिक वर्षमा पनि वन्यजन्तुको समस्या बढी रहेको धैरैनी क्षेत्रमा नमुनाका रूपमा ७ फिट अग्लो र करिब १६० मिटर लामो काँडेतार जाली लगाएको थियो। त्यसबाट बाँदर नियन्त्रणमा समेत सहयोग पुगेको स्थानीय विष्णुबहादुर सुनारले बताए।

उनका अनुसार काँडेतारको जालीमा बाँदर चढ्न कठिन हुने भएकाले खेतीबालीमा प्रवेश घटेको छ। तर, जाली नजिक रहेका रुखबाट भने बाँदर खेतमा पस्ने गरेका छन्। ‘तारको नजिकैको रुख नकाट्दा बाँदर पसेको छ,’ उनले भने, ‘त्यसैले त्यस्ता रुख काट्न पनि सल्लाह दिएका छौँ।’

तार लगाउनुअघि मकै उम्रिएर दुई–तीन पाते हुँदा नै बाँदरले खाइदिने समस्या रहेको स्थानीयको भनाइ छ। बाली जोगाउन नसक्दा कतिपय किसानले खेतबारी बाँझै राख्नुपर्ने अवस्था आएको उनीहरू बताउँछन्।
स्थानीयले मेयलपानीदेखि आरुखर्कसम्म थप काँडेतार जाली विस्तार गर्न माग गरेका छन्। चालु आर्थिक वर्षमा पनि थप ५ सय मिटर क्षेत्रमा काँडेतार जाली लगाउन बजेट विनियोजन गरिएको वडाध्यक्ष पोखरेलले बताए।

वडा कार्यालयको हेरालु परिचालन र काँडेतार जाली विस्तारको प्रयासले वन्यजन्तुबाट हुने खेतीबालीको क्षति कम गर्न सहयोग पुगेको छ। स्थानीयका लागि भने यो अभियान मकैबाली जोगाउने मात्रै नभई वर्षौँदेखि खेतीमा देखिँदै आएको वन्यजन्तुको समस्या समाधानतर्फको स्थानीय प्रयाससमेत बनेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,

सरकार र रास्वपा माथि सांसद पोर्तेलको कडा प्रहार

काठमाडौँ,३ भदौ। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकामाथि संसद्मा कडा प्रहार गर्नु भएको छ।राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय