दमक, ३ भदौ। दमकमा तीन वर्षदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता हुन सकेको छैन। नेपालमै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा चिनिएको दमक गोल्डकप सञ्चालन हुन नसकेपछि यसको निरन्तरतामाथि नै प्रश्न उठ्न थालेको छ।
विगतमा दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको नेतृत्वमा हुँदै आएको दमक गोल्डकप नगरपालिकामा नयाँ नेतृत्व आएपछि एकपटक मात्र सञ्चालन भएको थियो। त्यसयता प्रतियोगिता कहिले र कसरी सञ्चालन हुन्छ भन्ने अन्योल कायम छ।
दमक गोल्डकप सञ्चालन गर्नै नसकिने अवस्था हो त? मंगलबार दमक उद्योग वाणिज्य संघको हलमा भएको एक छलफलका क्रममा संघका अध्यक्ष गोपाल गुरागाईंले निजी क्षेत्रको नेतृत्वमा समेत प्रतियोगिता सञ्चालन गर्न सकिने धारणा राख्नुभयो।
गुरागाईंका अनुसार दमक उद्योग वाणिज्य संघलाई प्रतियोगिता सञ्चालनको नेतृत्व दिइए संघका आजीवन सदस्य थप गर्ने र पुरस्कार तथा अन्य खर्चका लागि प्रायोजक जुटाएर गोल्डकप सञ्चालन गर्न सकिन्छ।
उनले दमक गोल्डकपकै लागि कम्तीमा ४ सय जनालाई १० देखि १५ हजार रुपैयाँका दरले आजीवन सदस्य बनाउने तथा विभिन्न पुरस्कारका लागि प्रायोजक खोज्ने हो भने प्रतियोगिता सञ्चालन गर्न आर्थिक स्रोत जुटाउन सकिने बताउनुभयो।
यता, दमक नगरपालिकाले भने गोल्डकपलाई अपेक्षाकृत कम प्रतिफल दिने गतिविधिका रूपमा हेर्दै आएको छ। नगरपालिकाले गोल्डकपमा ठूलो रकम खर्च गर्दा स्थानीय खेलाडीले प्रत्यक्ष लाभ नपाउने तर्क गर्दै त्यसको सट्टा बर्सेनि नगर खेलकुद महोत्सव आयोजना गर्दै आएको छ।
तीन वर्षदेखि रोकिएको दमक गोल्डकप पुनः सञ्चालन गर्ने विषयमा नगरपालिका, निजी क्षेत्र र खेलकुद क्षेत्रबीच सहकार्यको आवश्यकता देखिएको छ।
प्रतियोगितालाई निरन्तरता दिने हो भने यसको आर्थिक व्यवस्थापन, स्थानीय खेलाडीको सहभागिता र दीर्घकालीन सञ्चालनको स्पष्ट मोडालिटी आवश्यक हुने देखिन्छ।









