इलाम ,४ भदौ । इलाममा खाना पकाउने एलपी ग्यासमा तोकिएको मूल्यभन्दा बढी रकम असुली हुन थालेपछि नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै नगर प्रहरी परिचालन गरेको छ।
उपभोक्ताबाट ग्यास बिक्रेताले तोकिएको मूल्यभन्दा बढी रकम लिने गरेको गुनासो आएपछि नगरपालिकाले बिहीबारदेखि नगर क्षेत्रका ग्यास बिक्री केन्द्रमा नगर प्रहरी खटाएको हो। नगर प्रहरीले नेपाल आयल निगमले निर्धारण गरेको मूल्यमा मात्रै ग्यास बिक्री गर्न व्यवसायीलाई आग्रह गर्नेछ।
इलाममा पछिल्लो समय उपभोक्ताले एउटा सिलिन्डर ग्यासका लागि २ हजार २ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन्। नेपाल आयल निगमले तोकेको मूल्यअनुसार इलाममा एलपी ग्यासको अधिकतम खुद्रा मूल्य २ हजार ६० रुपैयाँ रहेको जनाइएको छ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाले उपभोक्तालाई तोकिएको मूल्यमा नै ग्यास उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरेका छन्। उनले ग्यास बिक्री हुने सबै स्थानमा नगर प्रहरी परिचालन गरिएको जानकारी दिए।
व्यवसायीहरूले भने ठूला सवारीसाधनले गोदकसम्म मात्रै ग्यास ल्याउने र त्यहाँबाट साना सवारीसाधनमार्फत इलामसम्म ढुवानी गर्नुपर्दा लागत बढेको बताएका छन्।
नगर प्रमुख थापाका अनुसार अब ठूला सवारीसाधनबाटै ग्यास इलाम बजारसम्म ल्याउने व्यवस्था मिलाइएको छ। यसबाट ढुवानी लागत घट्ने र उपभोक्ताले राहत पाउने नगरपालिकाको अपेक्षा छ।
नगरपालिकाले तोकिएको मूल्यभन्दा बढी रकम असुली गरेको पाइए प्रमाणसहित सम्बन्धित निकायमा उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ। बढी मूल्य असुली गरेको प्रमाणित भए कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नगरपालिकाले बजार अनुगमन तीव्र बनाएसँगै एलपी ग्यास बिक्रीमा हुँदै आएको मनपरी मूल्य असुली नियन्त्रण हुने अपेक्षा गरिएको छ।









